वीरगन्ज | जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मितिमा फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाएको छ। पक्राउ परेका प्रतिवादीहरू किर्ते, जालसाजी, करकाप र बैङ्किङ कसुरका अभियुक्त हुन्।
पक्राउ पर्नेहरूमा पर्सा जिल्लाका शङ्कर साह कानु, पानालाल साह कानु, अमर साह कानु, श्रीकिसुन साह कानु, शिव नारायण साह कलवार, शङ्कर महतो धानुक, रामबिलास राउत अहिर, राधिका देवी अहिर, रामअयोध्या राउत कुर्मी लगायत छन्। यी सबैमाथि विभिन्न मुद्दामा अदालतको फैसला कार्यान्वयन गर्न बाँकी रहेको थियो।
बैङ्किङ कसुरको अभियोगमा राजेन्द्र प्रसाद कुर्मीलाई पनि प्रहरीले पक्राउ गरेको छ। सबै पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत पर्सामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, यी प्रतिवादीहरू लामो समयदेखि फरार रहेका थिए। अदालतका विभिन्न मुद्धाहरूमा सजाय सुनाइएका भए पनि पक्राउ पर्न नसकेका अभियुक्तहरूलाई खोजी गर्दै प्रहरीले विशेष अभियान चलाएर पक्राउ गर्न सफल भएको हो।
अदालतको फैसला कार्यान्वयन सुनिश्चित गर्न प्रहरीले गरेको यो प्रयासले कानुनी शासनप्रति आम जनताको विश्वास बढाउने अपेक्षा गरिएको छ। यस्ता अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी सक्रिय भएको र यसले भविष्यमा अन्य फरार प्रतिवादीहरूलाई पनि पक्राउ गर्न मद्दत पुर्याउने विश्वास प्रहरी अधिकारीहरूले व्यक्त गरेका छन्।
पक्राउ परेका सबै अभियुक्तहरूलाई पर्सा जिल्ला अदालतले अब कानुनी प्रक्रिया अनुसार कारबाही गर्नेछ।