वीरगन्ज | बुधबार— व्यवसायमा लगानी गर्दा सम्भावित जोखिमको पूर्वानुमान गर्न क्रेडिट रेटिङ महत्त्वपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन्। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड र वीरगन्ज उद्योग वाणिज्य संघद्वारा आयोजित ‘लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम’मा सहभागी विश्लेषकहरूले क्रेडिट रेटिङले व्यवसायिक जोखिमको आँकलनमा सहयोग पुर्याउने बताएका हुन्।
इन्फोमेरिक्स क्रेडिट रेटिङकी विश्लेषक समिज्ञा आचार्यले रु ५० करोडभन्दा बढी पुँजी भएका कम्पनीहरूको लागि क्रेडिट रेटिङ अनिवार्य भएको जानकारी दिँदै, यसले कम्पनीको वित्तीय र सञ्चालन स्थितिको आँकलन गर्न मद्दत पुर्याउने बताइन्। “क्रेडिट रेटिङले ऋण तिर्न सक्ने क्षमता र सम्भावित प्रतिफलको पूर्वानुमान दिन्छ,” उनले भनिन्। यद्यपि, क्रेडिट रेटिङले लगानीको सिफारिस नगर्ने, तर वित्तीय स्थिति चित्रण गर्ने बताइन्।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले क्रेडिट रेटिङलाई थप विश्वसनीय बनाउनुपर्नेमा जोड दिए। उनले भने, “ऋणी र लगानीकर्ताका लागि यो जोखिमको आँकलन गर्न भरपर्दो उपकरण हो, जसलाई समयअनुसार सुधार गर्दै लैजानु आवश्यक छ।”
कार्यक्रममा विश्लेषकहरूले क्रेडिट रेटिङले धितोपत्र, व्यक्ति वा संस्थाको साखको मूल्याङ्कन गर्ने प्रक्रिया रहेको र नेपाल राष्ट्र बैंकले रु ५० करोडभन्दा बढी कर्जा लिने ऋणीहरूको लागि यो अनिवार्य बनाएको जानकारी दिए। साथै, धितोपत्र बोर्डले क्रेडिट रेटिङ संस्थाहरूको नियमन गरिरहेको छ।