वीरगंज | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको जानकारी दिएकी छन्।
उनले सामाजिक सञ्जालबाट उक्त निर्णयको जानकारी दिएकी हुन्। उनले उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको बताइन्।
‘हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ’,उनले भनिन्।
प्रश्नपत्र नबुझिएकै कारण धेरै विद्यार्थीहरू फेल भएको भन्दै अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र निर्माण गर्नुपर्ने माग उठ्दै आएको थियो।