वीरगंज | पर्साको पटेर्वा सुगौली गाउँपालिकामा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् र तस्करीमा संलग्न तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले ती ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ स्थित जाते खोलामा बालुवा लोड गर्न पसेको ना ७७ त १३३४ नम्बरको ट्याक्टरलाई पक्राउ गरिएको छ। यसैगरी, वडा नम्बर १ स्थित पथलवाघाटबाट नम्बर नखुलेको एक आइचर ट्याक्टर र वडा नम्बर ४ पथरैयाबाट ना ६ त १६७४ नम्बरको ढुंगा लोड गरिरहेको ट्याक्टर पनि नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएका बालुवा र ढुंगासहितको ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरी निरीक्षक मोहनजंग बुढाथापाका अनुसार, यो कार्य बालुवा र ढुंगाको अवैध तस्करी रोक्नका लागि गरिएको हो। पछिल्लो समयमा अवैध उत्खनन् र तस्करीको समस्या बढ्दो रहेकाले यस किसिमका कारबाहीलाई प्राथमिकता दिइएको उनले बताए।
यस किसिमको अवैध तस्करी रोक्न पर्सा जिल्लाका अन्य स्थानमा समेत निगरानी बढाउने र तस्करीमा संलग्नलाई कडा कारबाही गर्ने प्रहरीको भनाइ रहेको छ।