वीरगंज | जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि चार दिनसम्म देशभर लगातार वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ, जसमा बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले पनि थप वर्षा गराउने सम्भावना बढेको छ।
महाशाखाका अनुसार अहिले कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसोदेखि आइतबारसम्म देशभर मौसम पूर्ण रूपमा बदली रहँदै धेरैजसो ठाउँमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
महाशाखाले भारी वर्षाको कारणले बाढी, पहिरो, भूक्षय, र गेग्रान बहावको जोखिम रहेको बताएको छ। साथै, शहरी क्षेत्र र तराईमा डुबानको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। ठूला र साना नदी नालामा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने भएकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
देशका ५६ जिल्लामा यस प्रणालीको असर पर्नसक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ।
महाशाखाले थप जानकारी दिँदै रातको समयमा विशेषगरी वर्षा हुने सम्भावना बढी रहने भएकाले राति ढिलो यात्रा नगर्न, खोलानालाहरू नजिक नजान र पहाडी तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। बाढीको कारण तराई क्षेत्रका केही स्थानहरूमा डुबानको सम्भावना भएकाले सुरक्षित स्थानमा सर्न सुझाव दिइएको छ।
वर्षाको प्रभावले कृषि, सडक यातायात, हवाई उडान, र निर्माण कार्यहरूमा पनि असर पर्न सक्ने भएकाले सम्बन्धित निकायहरूलाई पूर्वतयारी गर्न अनुरोध गरिएको छ। नदी तथा नालामा पानीको सतह बढ्न सक्ने भएकाले माछापालन, जलविद्युत् आयोजना, र अन्य जलाशयहरूमा पनि विशेष निगरानी राख्न भनिएको छ। चार दिनसम्मको यो मौसम प्रणालीले जनजीवनमा ठूलो असर पार्नसक्ने भएकाले महाशाखाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।