वीरगञ्ज। संविधान दिवस २०८१ को अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित दुर्गा टोलमा सामुदायिक सरसफाई कार्यक्रम सम्पन्न भएको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर पर्सा, सामुदायिक सेवा केन्द्र, र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधानको अध्यक्षतामा स्थानीय बासिन्दा, समाजसेवी, अल्पाईन माध्यमिक विद्यालयका शिक्षक, कक्षा ९ का विद्यार्थी, र सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
बैष्णो देवी मन्दिर परिसरमा भएको सरसफाई अभियानले समुदायमा सफाईको महत्त्वलाई उजागर गर्दै सामुदायिक एकता र सहकार्यलाई बलियो बनाएको आयोजकहरूले बताए। यो कार्यक्रमले स्थानीय जनताको सक्रिय सहभागिता र सरसफाई प्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
संविधान दिवसको अवसरमा गरिएको यस सरसफाई कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरूको सहभागिता विशेष उल्लेखनीय रह्यो। यसले बालबालिकामा समाजप्रतिको जिम्मेवारीको भावना विकास गर्न मद्दत गरेको छ।
कार्यक्रम आयोजकहरूले भविष्यमा पनि यस्ता सरसफाई अभियानलाई निरन्तरता दिने र समुदायमा सरसफाईको चेतना फैलाउने प्रतिबद्धता जनाएका छन्। यस अभियानले समुदायलाई सफा, स्वस्थ, र हरित बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।