बारा। पचरौता नगरपालिका वडा नं. ४, बेलदारीस्थित नगर अस्पतालमा अब चौबीसै घण्टा एमबीबीएस चिकित्सक सेवा उपलब्ध हुने भएको छ। नगर प्रमुख जलन्धर सिंहले मेडिकल अधिकृत अखिलेश अधिकारीलाई औपचारिक नियुक्ति पत्र प्रदान गरेसँगै उच्च स्तरको चिकित्सक सेवा पुनः सुचारु भएको हो।
अस्पतालमा केही समयदेखि अवरुद्ध रहेको चौबीसै घण्टे सेवा पुनः सुरु भएपछि पचरौता नगरपालिका र आसपासका बिरामीहरूलाई स्वास्थ्य परीक्षणमा सहजता मिल्ने नगर प्रमुख सिंहले जानकारी दिए। यो सेवा सुरु भएपछि बिरामीहरूलाई आकस्मिक स्वास्थ्य सेवाहरू प्राप्त गर्नका लागि लामो यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ।
नगर अस्पतालबाट बहिरङ्ग सेवा, आकस्मिक सेवा, गर्भवती जाँच, प्रसूति सेवा, खोप तथा पोषण सेवा, र प्रयोगशाला सेवाजस्ता विभिन्न सेवा उपलब्ध गराउने काम भइरहेको छ। यसले पचरौता र आसपासका ग्रामिण क्षेत्रका नागरिकहरूलाई घरदैलोमै प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने सुनिश्चितता गरेको छ।
नगर प्रमुख सिंहका अनुसार, बेलदारी नगर अस्पताललाई सुविधा सम्पन्न बनाउन नगरपालिका निरन्तर पहल गरिरहेको छ। उनले नगरवासीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै आगामी दिनहरूमा स्वास्थ्य सेवामा थप सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
यस कदमले पचरौता र आसपासका ग्रामिण क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवामा सहजता प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। नगर अस्पतालमा चौबीसै घण्टा एमबीबीएस चिकित्सक सेवा सुरु भएपछि स्थानीयवासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाउने छन्।