वीरगंज । रक्सौल सीमा नाकामा लागुऔषध तस्करीको घटनामा एक सरकारी शिक्षकसहित दुई जनालाई पक्राउ गरिएको छ। यस घटनाले ठूलो सनसनी मच्चाएको छ। गोप्य सूचनाका आधारमा, रक्सौल प्रहरीको टोलीले शनिबार बेलुका बाइपास सडकबाट ९ करोड रुपैयाँ बराबरको ९ किलो २०० ग्राम चरससहित दुवैजनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूमा रक्सौलको पंटोका पंचायतका हरैया निवासी अरविन्द कुमार सिंहका ४० वर्षीय छोरा शैलेन्द्र कुमार सिंह र रक्सौल नगरको कोइरिया टोलाका देवीलाल शर्माका २५ वर्षीय छोरा अंकेश कुमार उर्फ डेविल रहेका छन्। उनीहरू मोटरसाइकलमा गम्हरिया चौकतर्फ जाँदै थिए, प्रहरीको घेरा हालेर जाँच गर्दा झोलामा प्याक गरिएको चरस फेला परेको थियो। उनीहरू उक्त चरस नेपालबाट ल्याएर कसैलाई डेलिभरी गर्न लागेको बुझिएको छ।
प्रहरीको अनुसन्धानबाट शैलेन्द्र कुमार सिंह हरैया स्थित उत्क्रमित माध्यमिक विद्यालयका स्नातक शिक्षक भएको खुलासा भएको छ। रक्सौल प्रहरी प्रमुख निरीक्षक राजीव नन्दन सिन्हाले घटनाको पुष्टि गर्दै भने कि दुवैलाई एनडीपीएस ऐनअन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको छ। घटनामा गम्भीर अनुसन्धान सुरु भइसकेको छ।
डीएसपी धीरेंद्र कुमारको निर्देशनमा छापामारी टोलीमा दण्डाधिकारी रवि कुमार, रक्सौल थानाध्यक्ष राजीव नन्दन सिन्हा, एएसआई संजीवन पासवान, र प्रभात कुमार सहभागी थिए। हाल प्रहरीले यो अनुसन्धान गरिरहेको छ कि उक्त चरस कसलाई आपूर्ति गर्नुपर्ने थियो र यो तस्करी सिंडिकेटमा अन्य को-को संलग्न छन्।