वीरगंज | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले शनिबार राजनीतिक दलहरुको प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको र भिक्षुहरुमाथि लात्ती प्रहार गरेको भन्दै भर्त्सना गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उनले भिक्षुहरुमाथि लात्ती हान्नेकाम अमानविय भएकाे बताएका हुन्। ‘भिक्षुहरुलाई लात्ती मुड्की गर्ने काम भयो। त्यसको म निन्दा र भर्त्सना गर्दछु।’ उनले भने।
शनिबार भद्रकाली मन्दिर परिसर क्षेत्रमा नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीले भिक्षुकहरुमाथि लात्ती प्रहार गरेको थियो। सोही विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ।
‘हाम्रो आन्दोलनमा हिंसात्मक गतिविधि हुँदैनन्, तोडफोडका कामहरु हुने छैनन्। त्यो क्रममा सरकारले जुलुसलाई उत्तेजित बनाउने, अवरोध सिर्जना गर्ने काम नगरोस्।’ अध्यक्ष लिङदेनले चेतावनी दिए।
अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समान विचार राख्ने पार्टी र व्यक्तिहरुलाई एकताबद्ध भई आन्दोलनमा होमिन आग्रह गरे। उनले देश बचाउने र बनाउने मुद्दामा सबै एक हुनुपर्नेमा जोड दिए।