वीरगन्ज | मधेस प्रदेशको एकमात्र पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना (साउनदेखि फागुनसम्म) को अवधिमा पर्सा राष्ट्रिय निकुञ्जमा ६ सय १३ जना पर्यटक आएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए । तीमध्ये सार्क मुलुकका १४ र गैरसार्क राष्ट्रका एकजना विदेशी पर्यटकपनि रहेको उनले बताए । जबकि गत आर्थिक बर्ष २०७९/८० को सोही आठ महिनामा १ सय ४० पर्यटकले मात्र निकुञ्जमा भ्रमण गरेको भगतले बताए ।यस्तै गत आर्थिक बर्ष २०७९/८० मा (१२ महिनामा) भने पर्सा राष्ट्रिय निकुञ्जमा ७२ जना भारतीयसहित सार्क मुलुक र ३२ जना अन्य देशका पर्यटक गरी १ हजार ६५ जना पर्यटकले भ्रमण गरेका थिए ।
पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको पर्सा राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ ।प्राकृतिक सौन्दर्यसँगै वन्यजन्तुको जैविक विविधताले धनी पर्सा राष्ट्रिय निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम बढेको निकुञ्जका सूचना अधिकारी भगतले बताए । “विगतभन्दा अहिले निकुञ्जमा आन्तरिक तथा भारतका पर्यटक आउने क्रम बढेको छ”, उनले भने,“बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।”
पर्सा राष्ट्रिय निकुञ्जभित्र माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दह पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेका छन् । निकुञ्जभित्र पानीको सहज उपलब्धतासँगै पाटेबाघसहितका जनावरको संख्यापनि बढ्दै गएको छ ।
सन् २०२२ को बाघ गणनाअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या ४१ पुगेको छ । निकुञ्जले प्राकृतिक रूपमा कृत्रिम पोखरी निर्माण गरेपछि वन्यजन्तुको संखया बढेको हो । कुल ६ सय २७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जभित्र पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, नीलगाई, गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, ४ सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन् ।
पर्सा राष्ट्रिय निकुञ्जको भ्रमणमा आउने पाहुनाको स्वागतमा निकुञ्जको मध्यवर्ती क्षेत्रको ‘बफर जोन’मा सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होम स्टे)पनि सञ्चालन गरिएको छ ।स्थानीय संस्कृतिअनुसार सुनाखरी सामुदायिक होम स्टेले विविध परिकार पस्केर पाहुनालाई आकर्षित गर्दै आएको छ ।