वीरगन्ज । पर्सा,बारा र रौतहटका पाँच सय मुस्लिम धर्मावलम्बी परिवारलाई रमजान पर्ब मनाउनका लागि टर्कीको एक संस्थाको आर्थिक सहयोगमा ह्युमन डेभलोपमेन्ट नेपालले खाद्यान्न सामाग्री वितरण गरेको छ ।
टर्किस कोडिनेशन एण्ड कर्पोरेसन एजेन्सी (टिका) को आर्थिक सहयोगमा ह्युमन डेभलोपमेन्ट नेपालले तीन वटै जिल्लाका गरिब,विपन्न र एकल महिलालाई खाद्यान्न सामाग्री वितरण गरेको हो । पाँच सय परिवारलाई जनही चालम २५ केजी, पिठो ५ केजी, दाल २ केजी , चिनी २ केजी, खानेतेल २ लिटर र खजुर आधा केजीका दरले वितरण गरिएको ह्युमन डेभलोपमेन्ट नेपालका अध्यक्ष अरमान हासमीले जानकारी दिए ।
यसैक्रममा शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर २३ मा ११६ परिवारलाई , वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मा १२९ परिवार , पर्सागढी नगरपालिकामा १०१ परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हासमीले बताए । तीन वटै जिल्लामा गरि पाँच सय परिवारलाई ती सामाग्री वितरण गरिएको उनले बताए ।
अहिले मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्ब रमजान चलिरहेको बेला मुस्लिम समुदायका विशेषगरी आर्थिक अवस्था कमजोर भएका, एकल महिला , असहायहरुलाई लक्षित गरी रमजान पर्ब मनाउनका लागि सहयोग स्वरुप खाद्य सामाग्री वितरण गरिएको हासमीले बताए ।