वीरगंज | वीरगन्जको रजतजयन्ति चोकदेखि मितेरी पुलसम्मकोे सडकखण्डमा अधुरो रहेको सडकको स्तरोन्नत्ती र कालोपत्रेको काम तिब्र गतिमा भइरहेको छ ।
रजतजयन्ति चोकदेखि मितरी पुलसम्मको सडक यसअघि नै कालोपत्रे भइसकेकोमा त्यसकै बिचमा पर्ने रजत जयन्ति चोकदेखि भन्सार तर्फको ३ सय ५ मीटर सडक भने अधुरै छाडिएको थियो । खानेपानी संस्थानको भूमीगत पाइप, विद्युत र टेलिकमको पोल नहटाइएका कारण ३ सय ५ मीटर सडकको काम अधुरै रहेको थियो ।
अहिले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा सडक विभागले अधुरो रहेको ३ सय ५ मिटर सडकको स्तरोन्त्ती गरि कालोपत्रेको काम गरिरहेको हो । ३ सय ५ मिटर लम्बाई र १४ मिटर चौडाईको उक्त सडकको स्तरोन्नत्ती र कालोपत्रे कार्यका लागि १ करोड ७९ लाख रुपैयाँमा विकास जेभीले ठेक्का सकारेको छ । सडडक विभाग र ठेकेदार कम्पनिबिचको सम्झौतामा उक्त सडकको काम ६ महिनाभित्र सम्पन्न गगरिसक्नु पर्ने उल्लेख छ ।
यसैबिच सोमबार बिहान वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले रजत जयन्ति चोकमा पुगेर निर्माणाधीन सडकको स्थलगत निरिक्षण गरेका छन् । महानगरपालिकाका प्राविधिक टोलीसहित पुगेका उनले सडकको काममा गुणस्तरको सवालामा कुनै सम्झौता नगर्न र समयमै काम सक्न ठेकेदार ध्रुब पटेललाई निर्देशनपनि दिए ।
स्थलगत निरिक्षणमा मेयर सिंहसंगै पुगेका ईन्जिनियर प्रकाश अमात्यका अनुसार, सडक क्षेत्रमा रहेका खानेपानी र टेलिकमको पाइप हटाएर व्यवस्थापन गर्ने काम सकिसकेको छ । यस्तै विद्युतको पोलपनि सडक क्षेत्रबाहिर राख्ने कामपनि पूरुा भइसकेको अमात्यले बताए ।