वीरगञ्ज । नेपाल तुरहा कल्याण समिति काठमाडौँले चार जना छात्र र चार जना छात्रालाई सम्मान गर्ने भएको छ ।
शनिवार बसेको नेपाल तुरहा कल्याण समितिको केन्द्रीय बैठकले एसइई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएका तुरहा जातिका आठ जना विद्यार्थीहरूलाई सम्मान गर्ने समितिका केन्द्रीय अध्यक्ष विपिन साह तुरहाले जानकारी दिए ।
“कक्षा १० र १२ मा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम छ । तुरहा जातिमा पढे लेखेका विद्यार्थीको सङ्ख्या कम छ । त्यसमा पनि विद्यार्थीलाई प्रोत्साहित नगर्दा उनीहरू अरू जस्तै भौँतारिने छन् । त्यसैले यो कार्यक्रम जरुरी छ । हरेक वर्ष उनीहरूलाई प्रोत्साहन गर्ने हाम्रो योजना छ,” समितिका अध्यक्ष साहले भने ।
यस वर्ष चैत १० गते आयोजना गरिएको तुरहा होली मिलन समारोहमा विद्यार्थीलाई सम्मानित गरिने छ । २०७९ सालमा उत्कृष्ट नतिजा ल्याएका कक्षा १० का २/२ जना छात्रछात्रा र कक्षा १२ का २/२ जना छात्रछात्रालाई सम्मान गर्ने योजना रहेको उनले बताए । एक जना विद्यार्थीलाई सम्मान पत्र सहित ५१०० नगद रुपैयाँले सम्मान गरिने उनको भनाई छ ।
विद्यार्थीहरूलाई उक्त कार्यक्रममा सहभागी हुन चैत ५ गतेसम्म आवेदन दिन समयअघि दिइएको छ । विद्यार्थीले आफ्नो नागरिकता वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, फोटो र मार्क सिटको प्रतिलिपि लगायतको कागजको माग गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुने विद्यार्थी तुरहा जातिको हुनुपर्ने छ । उक्त कार्यक्रममा आवेदन ह्वाट्सएप नम्बर ९८११८१४७४२ र इमेल [email protected] मार्फत दिन सकिनेछ ।