वीरगञ्ज । नेपाली बालिकालाई केरला लैजान खोज्ने एक युवक भारतबाट पक्राउ परेका छन् । १४ वर्षीय नाबालिगलाई नक्कली प्रेमको जालमा फसाएर भारत लगेका वीरगञ्जका २६ वर्षीय मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेका हुन् ।
अन्सारीलाई भारतको उत्तराखण्ड भीम तालबाट पक्राउ गर्नुका साथै नाबालिगलाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७ औँ कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिए ।
बालिकाले सोधपुछको क्रममा अन्सारीले आफूलाई केरला लैजाने चाहेको बयान दिएका कारण उत्तराखण्ड प्रहरीले केरला लैजान चाहेको कारणको बारेमा अनुसन्धान गरिरहेको इन्स्पेक्टर शर्माले बताए ।
उनका अनुसार पक्राउ परेका अन्सारीले नाबालिगसँग इन्स्टाग्राममार्फत मित्रता बनाएका थिए । उसले आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए । नाबालिगले उनलाई पत्याएर नक्कली प्रेमको जालमा फसाएर भारत लगेका थिए ।
युवती घर नआएपछि बालिकाका परिवारका सदस्यले बालिकाको धेरै खोजी गरे पनि फेला पार्न सकेनन् । बेपत्ता भएको एक महिनापछि बालिकाकी आमालाई भारतीय नम्बरबाट ह्वाट्सएप फोन गरेकी थिइन् । सो क्रममा मोहम्मद इस्राफिल अन्सारीले आफ्नी छोरीलाई बिर्सिदिन र फिर्ता पाउने आस मार्न भन्दै धम्की समे दिएका थिए ।
बालिकाका अनुसार एक दिन मोहम्मद इस्राफिल अन्सारीले आफ्नो फोन घरमा बिर्सेको बेला उनका एक जना नातेदारले फोन गरेर मोहम्मद इस्राफिल कहाँ छन् भनेर सोधेका थिए । त्यसपछि आफूले को को इस्राफिल भनेर प्रश्न गरेपछि नातेदारले अन्य जानकारी दिएका थिए । सोही पश्चात् बालिकालाई उनको वास्तविक नामको बारेमा जानकारी भएको थियो । यता मोहम्मद इस्राफिल अन्सारीले सोधपुछका क्रममा आफूले थप दुई युवतीसँग यसै गरी विवाह गरेर छोडेको बयान दिएको भारतीय प्रहरीको दाबी छ ।