वीरगन्ज | उपचारका क्रममा बुधबारराति निधन भएका वीरगन्जका पत्रकार नेहाल खानको बिहीबार मुस्लिम धर्म परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
नेपाल टेलिभिजनको पर्सा संवाददाता तथा नेपाल पत्रकार पत्रकार महासंघका सदस्य खानको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबारराति निधन भएको थियो । करिब दुई दशकदेखि सकृय पत्रकारीतामा रहेका खान लामो समयददेखि छाती र फोक्सोको समस्याबाट पिडित थिए ।
बिहीबार दिउँसो २ बजेतिर वीरगन्ज ३ पानीटंकीस्थित कब्रस्तानमा खानको मुस्लिम धर्मपरम्परा र रितिरिवाज अनुसार अन्त्येष्टि गरिएको हो। त्यसअघि उनको शवमा नेपाल पत्रकार महासंघ , प्रेस चौतारी नेपाल र नेपाल मुस्लिम पत्रकार समाजको झण्डा ओढाएर पत्रकार संघसंगठनका नेताहरुले श्रद्धान्जली अर्पण गरेका थिए ।
खानको अन्त्येष्टिमा नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बञ्जारा, पर्सा अध्यक्ष अनुप तिवारी , प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी ,नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, नेपाल मुस्लिम पत्रकार समाज पर्साका अध्यक्ष मन्सुर खान लगायतका पर्सेली सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।