वीरगन्ज | वीरगन्जमा केहि साता यता फेरि लामखुट्टेको प्रकोप बढेको जनगुनासो आएपछि वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने तयारी गरेको छ ।यही फागुन २४ गते बिहीबारदेखि महानगरका वडा–वडामा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्न लागेको हो ।
लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि फागुन २४ गतेदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने महानगरपालिकाको सरफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले बताए । महानगरका मेयर राजेशमान सिंहको निर्देशन अनुसार लामखुट्टेको लार्भा मार्नका लागि बिहानको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने तालिका रहेको उनले बताए ।
मियाँका अनुसार विषादी, पानी र मट्टितेलको मिसावट गरी बनाइएको स्प्रे फाल्गुन २४ गते वीरगन्ज महानगरको वडा नम्बर १, २, ३ र ४ मा छरिनेछ । यस्तै फाल्गुन २५ गते वडा नम्बर ५,६,७ र ८ मा, फाल्गुन २६ गते वडा नम्बर ९,१०,११ र १२ मा, फाल्गुन २७ गते वडा नम्बर १३,१४,१५ र १६ मा,फाल्गुन २८ गते वडा नम्बर १७,१९,२५ र २६ मा, फाल्गुन २९ गते वडा नम्बर १८,२०,२२ र २७ मा, फाल्गुन ३० गते वडा नम्बरर २१,२३,२४ र ३० मा र चैत १ गते वडा नम्बर २८,२९,३१ र ३२ मा स्प्रे गरिने मियाँले जानकारी दिए ।चैत २ गतेदेखि पुनः दोस्रो राउण्डको स्प्रे सुरु गरिने पनि मियाँले जानकारी दिए ।