वीरगंज | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार भएकाे सत्ता गठबन्धन परिवर्तन गर्ने घटना सामान्य नभएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साेमबार नेपाली कांग्रेससँगकाे गठबन्धन ताेडी एमालेसहितका दलसँग नयाँ गठबन्धन गरेका छन्। साेही विषयलाई लिएर नेता काेइरालाले यस्ताे टिप्पणी गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् यस्ताे टिप्पणी गरेका हुन्। नेता काेइरालाले यो राजनीतिक परिवर्तनबाट कांग्रेस नेतृत्वले पाठ सिक्नुपर्ने सुझाव दिएका छन्।
उनले लेखेका छन्, ‘‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो, तर हिजो (फागुन २१) को घटना सामान्य होइन। कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि? भविष्यको लागि सजग बनौं।’
आजै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक देउवा निवास बुढानीलकण्ठमा बस्दैछ। बैठकमा नयाँ समीकरणबारे समीक्षा हुनुका साथै गठबन्धन भत्किनुको कारण र धारणाबारे पनि समीक्षा हुने बताइएको छ।