बिरगंज l आइतबार दिउँसो चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको एकता शिशु निकेतन स्कुल पुग्दा गेटमा प्रहरीहरू तैनाथ थिए।
गेटबाहिर अभिभावकको बाक्लै जमघट थियो। उनीहरू फागुन १२ गते बिहान छात्राबासमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलका बारेमा कुरा गर्दै थिए। आफ्ना सन्तानको विषयमा पनि कुरा गर्दै थिए।
कक्षा ८ मा अध्ययनरत शालीन आफू बस्दै आएको एकता शिशु निकेतन स्कुलको छात्राबासमा डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
शालीनको मृत्यु भएपछि उनको परिवार र आफन्तले हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए। बलात्कार गरेर हत्या गरिएको दाबी गर्दै उनीहरूले स्कुलका प्रधानाध्यापक, सह-प्रधानाध्यापक र होस्टल वार्डेनको नाम किटान गरेर जाहेरी दिएका थिए। त्यसैको आधारमा प्रहरीले उनीहरू तीनै जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ। जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
काठमाडौंस्थित शिक्षण अस्पतालमा गरिएको पोस्टमर्टमको रिपोर्टले भने शालीनको मृत्यु झुन्डिएर भएको देखाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालले पोस्टमर्टम रिपोर्टमा शालीनको मृत्युको कारण डोरीमा झुन्डिएको बाहेक उल्लेख नभएको जानकारी दिए।
शालीनको परिवारले दाबी गरेजस्तो पोस्टमर्टम रिपोर्टमा देखिएन। हामी अनुसन्धानकै चरणमा छौं। विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ रिमालले भने।
घटनाको अनुसन्धान नटुंगिएसम्म स्कुल सञ्चालन नगर्न दबाब आएको थियो। त्यसैले केही दिन स्कुल बन्द भएको थियो। गत शुक्रबारदेखि भने प्रहरीले सुरक्षा दिएर पढाउन थालिएको हो।