झापा | पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाउँदै भाटभटेनीले झापाको दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारी गरेको छ । यस अघि नै झापाको बिर्तामोडमा भाटभटेनी सुपरस्टोर सञ्चालनमा आइसकेको छ । दमक–९ मा गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ स्टोर स्थापना गर्न सफल भएको हो ।
दमकको स्टोर १४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायरफिट सपिङ स्पेससहित सञ्चालन आउन लागेको हो । १ अर्ब ५० करोड बढी लगानीमा सञ्चालनमा आउने यो स्टोर झापा जिल्लामा दोस्रो हो भने कोशी प्रदेशको पाँचौँ स्टोर हो । यस अघि झापाको बिर्तामोडसहित कोशी प्रदेशका धरान, विराटनगर तथा इटहरीमा स्टोर सञ्चालनमा आइसकेको छ ।
यही फागुन २३ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आउने यस सुपर स्टोरको लागि सम्पूर्ण तयारी पूरा भएको भाटभटेनीले जनाएको छ । उद्घाटनका अवसरमा आम ग्राहकहरूलाई प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था पनि रहेको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले बताए । यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि स्केट पार्क लगायतका सुविधाहरू रहने भाटभटेनीले जनाएको छ ।