वीरगंज | अलेक्सई नभाल्नीलाई त्रासदीपूर्ण कथा मन पर्दैनथ्यो । उनी त्यस्ता कथा मन पराउथे, जसमा नायकले खलनायकलाई जित्छन् र खराबमाथि राम्रोको विजय हुन्छ । उनीसँग ती नायकमा हुने रुप र प्रतिभा थियो, तर उनी रुसमा जन्मिए । आफ्नो अन्तिम दिनहरू आर्कटिक पर्माफ्रोस्टको कारागारमा बन्द भई अँध्यारो समय बाँचे । ‘स्टार वार्स’को प्रशंसक उनले कवितात्मक शैलीमा आफ्नो मुद्दा वर्णन गरे । सन् २०२१ मा आफ्नो कोठरीबाट उनले लेखेका थिए, ‘कसैको दिमागमा जेल अस्थितत्वमा छ । यदि तपाईंले राम्ररी सोच्नुभयो भने म जेलमा होइन, बरु अन्तरिक्ष यात्रामा छु… एक अद्भूत नयाँ संसारमा ।’ त्यो यात्रा फेब्रुअरी १६ मा समाप्त भयो ।
नाभाल्नीको मृत्युलाई रुसका जेल अधिकारीले रगत जमेको कारण भएको बताएका थिए, तथापि उनका डाक्टरका अनुसार उनी कुनै अवस्थाबाट पीडित थिएनन्, जसले उनको स्वास्थ्यमा त्यस्तो सम्भावना ल्याउँछ । उनको मृत्यु प्रमाणपत्रमा जेसुकै लेखिए पनि उनलाई भ्लादिमिर पुटिनले मारेका थिए । रुसी राष्ट्रपतिले नाभाल्नीलाई कैद गरे, उनलाई जबर्जस्ती श्रम र एकान्तमा राखियो । नभाल्नी उल्लेख्य साहसी व्यक्तिको रूपमा चिनिनेछ । शक्तिशाली बौद्धिक व्यक्ति नाभाल्नीले पुटिनले आफ्नो शक्ति निर्माण गरेका दुई आधार पहिचान गरे, डर र लोभ । पुटिनको संसारमा सबैलाई घुस वा धम्की दिन सकिन्छ । नभाल्नीले ती आवेग मात्र बुझेनन्, त्यसलाई विनाशकारी तरिकामा प्रहार गरे ।
पुटिनले उनलाई मार्ने पहिलो प्रयास सन् २०२० मा गरेका थिए, जतिवेला स्नायु एजेन्ट नोविचोकले उनको अन्डरवियरमा कालो पदार्थ मिसाएका थिए । सरासर राम्रो भाग्यले नाभाल्नी बाँचे, जर्मनीमा आफ्नो शक्ति पुनः प्राप्त गरे र प्रचारको धमाकामा पुटिनलाई चुनौती दिन एक वर्षभन्दा कम समयपछि मस्को फर्किए । आफू पक्राउ पर्न सक्ने थाहा पाएर पनि उनी स्वदेश फर्किए । आफूलाई विष दिन खोज्ने दुष्ट शासकको सामना गर्न स्वदेश फर्किने क्रममा उनले ह्यामलेट पढेनन् (ह्यामलेट शेक्सपियरको एक महत्वपूर्ण नाटक हो, जसका पात्र ह्यामलेटलाई विष खुवाइन्छ) । उनले अमेरिकी कार्टुन रिक र मोर्टी हेरे, पुटिनको खिल्ली उडाए र उनलाई कमजोर बनाए । सन् २०२१ मा आफूमाथिको अदालती सु्नुवाइमा उनले कठघराबाट भने, ‘मैले बाँचेर उनलाई घातक रूपमा अपमानित गरेको छु । उनी इतिहासमा विषको रूपमा प्रवेश गर्नेछन् । हामीसँग यारोस्लाभ द वाइज र अलेक्जेन्डर द लिबरेटर थिए । र, अब हामीसँग अन्डरप्यान्टको विष भ्लादिमिर पनि हुनेछन् ।’
नाभाल्नीपछि अब निसानामा साहसी राजनीतिज्ञ इल्या यासिन हुन सक्छन्, त्यस्तै इतिहासकार, पत्रकार तथा राजनीतिज्ञ भ्लादिमिर कारा–मुर्जा पनि जोखिममा छन्, जसले युद्धका विरुद्ध बोलेकोमा देशद्रोहको आरोपमा २५ वर्षको सजाय पाएका छन् ।
नाभाल्नीलाई अतिवादीको आरोपमा १९ वर्षको जेल सजाय सुनाइयो । उनले आफ्नो सजायलाई खुसीको अवज्ञाको कार्यमा परिणत गरे । हरेकपटक जेलबाट भिडियो लिंकमार्फत उनी अदालतको सुनुवाइमा उपस्थित हुँदा उनको मुस्कान उनको कोठरीको पर्खालबाट छेडेर र रुसको ११ टाइम जोनहरूमा चम्कियो । फेब्रुअरी १५ मा उनको मृत्युको पूर्वसन्ध्यामा उनी फेरि अदालतमा थिए । गाढा खैरो जेलको पोसाक लगाएका उनी पुटिनका न्यायाधीशको अनुहार हेरेर हाँसे । अन्तमा पुटिनसँग उनको अनुहारबाट मुस्कान पुछ्ने एउटै उपाय थियो ।
सन् १९७४ मा नोबेल पुरस्कार विजेता सोभियत उपन्यासकार अलेक्ज्यान्डर सोल्जेनित्सिनले आफ्नो निबन्ध ‘लिभ नट बाई लाइज’मा लेखेका थिए, ‘जब हिंसा शान्तिपूर्ण जीवनमा प्रवेश गर्छ, उसको (हिंसाको) अनुहार आत्मविश्वासले चम्किन्छ, मानौँ उसले ब्यानर बोकेको हुन्छ र चिच्याउँदै भन्छ, ‘म हिंसा हुँ । भाग, मेरा लागि बाटो छोडिदेऊ । म तिमीलाई कुल्चनेछु ।’ नाभाल्नीले बुझे, तर भाग्नुको सट्टा उनी अडिग रहे र कुनै भौतिक धम्कीले डगमगाएनन् ।
नाभाल्नीको हत्या पहिलो थिएन र यो अन्तिम पनि हुनेछैन । अबको निसाना साहसी राजनीतिज्ञ इल्या यासिन हुन सक्छन्, जसले नभाल्नीलाई जेलमा पछ्याए वा इतिहासकार, पत्रकार तथा राजनीतिज्ञ भ्लादिमिर कारा–मुर्जा हुन सक्छन्, जो युद्धका विरुद्ध बोलेकोमा देशद्रोहको आरोपमा २५ वर्षको सजाय पाएका छन् । यी विद्रोहीको रक्षा गर्न जारी राख्ने वकिल र कार्यकर्ता पनि खतरामा छन् । सन् २०१२ मा पुटिन राष्ट्रपतिमा फर्किएपछि कैदीको संख्या १५ गुणा बढेको छ । स्टालिनको श्रम शिविरका अवशेषहरू राजनीतिक बन्दीहरूले भरिए पनि पेसेवर अपराधीलाई युक्रेनमा लड्न भर्ती र रिहा गरिँदै छ ।
नाभाल्नीको मृत्युले सामान्य रुसीलाई पनि दुःखी बनाएको छ । उनको मृत्युको समाचारपछि मस्को र रुसभरका मानिसको बाढी सडकमा उत्रियो । प्रहरीले उनीहरूलाई पक्राउ गर्न थाल्नुअघि प्रदर्शनकारीले राजनीतिक दमनका पीडितहरूको सम्झनामा फूलमाला लगाएका थिए । तर, त्यो दमन झन् बढ्दै गएको छ । युक्रेनमा युद्ध सुरु भएदेखि यता एक हजार ३०५ पुरुष र महिलालाई युद्धको विरुद्धमा बोलेको अभियोगमा कारबाही गरिएको छ । दमनको लहरले राजनीतिमा पहिले कहिल्यै संलग्न नभएका मानिसलाई पनि निलिरहेको छ । राष्ट्रपतिले आवश्यक ठानेमा भिडमा गोली हान्नेछन् ।
पश्चिमले नभाल्नीको मृत्युले दोषीलाई कारबाहीको आह्वान गरेको छ । सन् २००० को प्रारम्भमा जब पुटिनले चेचन्यामा पहिलोपटक बमबारी र गोलाबारी गरे, पश्चिमी राजनीतिज्ञहरूले आँखा चिम्लेर आफ्ना साथीहरूसँग व्यापार गर्न जारी राखे । जब उनले मस्कोमा आफ्ना विरोधीहरूको हत्या गरे र २०१४ मा क्रिमियालाई कब्जा गरे । तिनीहरूले उनको नाडीमा थप्पड हाने । उनले २०२२ मा युक्रेनमा आक्रमण गरेपछि पनि उनीहरूले रुसलाई पराजित गर्न पर्याप्त हतियार उपलब्ध गराउन हिचकिचाए । प्रत्येकपटक पश्चिम पछि हट्यो । तर, पुटिनले एक कदम अगाडि बढाए । हरेकपटक पश्चिमी राजनीतिज्ञहरूले आफ्नो ‘गम्भीर चिन्ता’ व्यक्त गरे, उनी मुस्कुराए ।
नभाल्नीले देखाएको शक्ति र साहस पश्चिमले खोज्न आवश्यक छ । यो बुझ्नुपर्छ कि नाभाल्नीको हत्या, राजनीतिक कैदीहरूको बढ्दो संख्या, रुसभर मानिसहरूलाई यातना र कुटपिट, युरोपमा पुटिनका विरोधीको हत्या र युक्रेनी सहरमा गोलाबारी सबै एउटै युद्धको अंश हुन् । संकल्पविना पश्चिमको सैन्य र आर्थिक श्रेष्ठता बेकार हुनेछ । पश्चिमी सरकारले कारा–मुर्जाजस्ता मानिसलाई पुटिनको युद्धका कैदीहरूको रूपमा व्यवहार गर्नुपर्छ, जसलाई पश्चिममा रुसी कैदी वा युक्रेनका युद्धबन्दीहरूसँग आदानप्रदान गर्न आवश्यक छ । तिनीहरूले एक पागल तानाशाह र उसको गुन्डाअन्तर्गत बस्ने साधारण रुसीहरूलाई कलंकित गर्नुहुँदैन वा उनीहरूलाई दमन गर्ने तानाशाहलाई हटाउने जिम्मेवारी साधारण मानिसलाई दिनुहुँदैन ।
पुटिनलाई सबैभन्दा राम्रो जवाफ युक्रेनलाई हतियार दिनु हो । प्रत्येकचोटि अमेरिकी संसद्ले सहायतालाई अस्वीकार गर्छ, जसलाई रुसले सान्त्वनाको रूपमा लिन्छ । म्युनिख सुरक्षा सम्मेलनमा भेला भएका नेताहरू (जसले नाभाल्नीकी विधवा युलियाले न्यायका लागि माग गरेको सुनेका थिए)ले आफ्नो संकल्पलाई कठोर बनाउन आवश्यक छ । रुसी कार्यकर्ता र कैदीहरूका लागि खडा हुनु पनि आफ्नै देशलाई मद्दत गर्ने तरिका हो भन्ने युक्रेनी राजनीतिज्ञले बुझ्नुपर्छ । नाभाल्नीले युक्रेनको पुनर्निर्माण र रुसी युद्ध अपराधको अभियोगमा शान्तिको लागि आह्वान गरेका थिए । युक्रेनलाई मुक्त गर्नु रुसलाई पनि मुक्त गर्ने उत्तम उपाय हुनेछ ।