बर्दिबास । यसपालि जारी फागुन महिनामा महोत्तरीको बर्दिबासमा महोत्सवको माहोल छ । भर्खरै पागुन पहिलो साता तीन दिने सडक खाना महोत्सव सम्पन्न गरेको बर्दिबासमा फागुन चौथो साता आदिबासी जनजाति महोत्सव हुने भएको हो ।
यही फागुन २४ गतेदेखि चैत चार (४) गतेसम्म नेपाल आदिबासी जनजाति महासङ्घ , महोत्तरी जिल्ला समन्वय परिषदले चौथो आदिबासी जनजाति महोत्सव आयोजना गर्न लागेको हो । आदिबासी जनजातिको परम्परा, रितिथिति, संस्कृति र पहिचानको प्रबद्र्धन महोत्सवको मुख्य ध्येय रहेको महासङ्घ जिल्ला समन्वय परिषदका अध्यक्ष धननारायण श्रेष्ठ बताउनुहुन्छ । महोत्सवमा जिल्लामा बसोबास गर्दै आएका नौ भन्दा बढी आदिबासी जनजाति समुदायले आफ्ना साँस्कृतिक रितिथिति , भेषभुषा र परम्परागत खाद्य परिकारको परिचय दिनेछन् । यस अवसरमा फरकफरक समुदायका साँस्कृतिक प्रस्तुति गरिने महासङ्घ जिल्ला समन्वय परिषदले जनाएको छ ।
बर्दिबासमा आयोजना हुने ११ दिने यस महोत्सवमा स्थानीय कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित सामग्री र परम्परागत घरपरिवार प्रयोजनका सामग्रीको प्रदर्शनी र बेचबिखनका कक्ष सञ्चालन हुने जनाइएको छ । जिल्लाको हकमा तामाङ् , मगर, नेवार, राईसहितका पर्वते र थारु, दनुवार, कुम्हाल (पर्वते र मधेसी दुबै) , धानुक, केवटसहितका आदिबासी जनजातिले महोत्सवमा संयुक्त सहभागिता जनाउनेछन् ।
यस महोत्सवमा परम्परागत परिकार र साँस्कृतिक कार्यक्रमको मज्जा लिन विगतदेखि नै महोत्सवमा उल्लेख्य सङ्ख्यामा दर्शकको सहभागिता हुँदै आएको छ । सिन्धुली, सर्लाही र धनुषासँग जोडिएको र यातायातको सुगमताले बर्दिबासमा यसपालिको चौथो महोत्सवमा पाँच लाखबढी दर्शक सहभागी हुने महासङ्घले अपेक्षा राखेको छ ।