वीरगंज | आज बुधबार अन्तिम दिन भएको छ सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) भर्नका लागि। बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार, बुधबार साँझ ५ बजेसम्म मात्रै कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।
मंगलबार साँझ ५ बजेसम्म कम्पनीको आईपीओमा ५ लाख २४ हजारले आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ। कम्पनीले आम सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ताका लागि आवेदन माग गरेकोमा १ दिन बाँकी रहँदा, अर्थात् मंगलबार साँझ ५ बजेसम्म कुल २ करोड ८३ लाख कित्ताको माग आवेदन परेको हो। कुल १० अर्ब २२ करोड रुपैयाँ रकमको आवेदन परेको छ।
सीडीएसको अनलाइन प्रणाली मेरोसेयरमार्फत आईपीओमा आवेदन दिन सकिने छ। बुक बिल्डिङ विधिबाट पहिलो पटक यस कम्पनीको आईपीओको मूल्य निर्धारण भई सर्वसाधारणमा बिक्री खुला भएको हो। यो पद्दतीबाट आईपीओ जारी गर्ने कम्पनीमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ।