काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले देशका कुनै पनि बैंक तथा वित्तीय संस्था जोखिममा नरहेका र राष्ट्र बैंकले कुनै पनि संस्थालाई फेल हुन नदिने बताएका छन् ।
नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले सोमबार काठमाण्डौमा आयोजना गरेको एक समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बचतकर्तालाई सुरक्षित गरिने हामीसँग मेकानिजम छ । राष्ट्र बैंकबाट रेगुलेटेड कुनै पनि संस्था डुब्दैनन ।’ उनले भने ।
उनले एनआईसी एशियालाई अप्ठ्यारो परेको बेला केही बैंकहरु नै नियोजित ढंगले लागेका भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
‘केही बैंकहरु नै एउटा बैंकलाई समस्या पर्दा खुशी देखिए । उनीहरुले अरुलाई खाने बाघले हामीलाई पनि खान्छ भन्ने कुरा बिर्सिए ।’ गभर्नर अधिकारीले भने-‘एउटा बैंक डूब्नु भनेको एउटा संस्था मात्र डूब्नु होइन, अर्थतन्त्रमै समस्या आउनु हो । त्यसले कुनै बैंकलाई बाँकी राख्दैन । विरुद्धमा लाग्नेहरुको चुल्होसम्म प्रभावित हुनु हो । यो कुरा सबैले बुझ्न आवश्यक छ ।’
अर्को एक प्रसंगमा उनले एनआईसी एशिया बैंकबाट पछिल्लो समय दुष्प्रचार गरी निक्षेप झिकिए पनि आफूहरुले लिएको कर्जा निक्षेप अनुपातसम्बन्धी सही व्यवस्थाका कारण बैंकलाई धेरै अप्ठ्यारो नपरेको समेत जिकिर गरे । केही अर्ब डिपोजिट निकालिदा पनि एनआईशी एशियालाई खासै फरक नपरेको उल्लेख गर्दै उनले भने,‘हामीले लिएको कर्जा निक्षेप अनु्पात सम्बन्धी व्यवस्थाका कारण पनि बैंकलाई समस्या नपरेको हो । यस्तो अनुपात हाल ९० प्रतिशत छ । केहीले ९५ प्रतिशत गर्न भन्दै अभियान चलाए । केहीले हामीले लिएको नीतिविरुद्ध लेखे, लेख्न लगाए । तर आज त्यो व्यवस्था ठीक थियो भन्ने कुरा फेरि पनि प्रमाणित भएको छ ।