वीरगंज | नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी-२० श्रृंखला मंगलबारबाट सुरु हुँदै छ। पहिलो खेलमा नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज बिहान ११:३० मा सुरु हुने छ। आइसिसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि टी-२० विश्वकपको तयारीस्वरूप यो सिरिज हुन लागेको हो। आगामी जुनमा हुने टी-२० विश्वकपको तयारीका लागि नेपाले विभिन्न अन्तर्राष्ट्रिय सिरिजको तयारी गरिरहेको छ। विश्वकप लिग-२ को पहिलो सिरिजमा सहभागी सबै तीन टिम नै टी-२० विश्वकप खेल्ने भएकाले सबैको चाहनाअनुरूप सिरिज हुन लागेको हो।
भर्खरै सम्पन्न भएकाे विश्वकप लिग- २ अन्तर्गतकाे घरेलु सिरिजमा नेपालले ४ खेलमा एक मात्र जित हासिल गर्न सफल भयाे। नामिबियाले भने ४ खेलमध्ये तीन खेलमा जित निकालेर शीर्ष स्थानमा रह्यो। यसैगरी, नेदरल्यान्ड्स सिरिजमा २ जितसहित दोस्रो स्थानमा रह्याे। नेपालले विश्वकप लिग-२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यस सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ। ओडिआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टी-२० अन्तर्राष्ट्रियमा छैनन्। प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरालाई टोलीमा समावेश गरिएको छ।
नामिबियाले भने एकदिवसीय खेलेको टोलीलाई नै निरन्तरता दिने छ। नेदरल्यान्ड्सले ओडिआई टोलीमा परिवर्तन गरेको छ। बास डे लिड र ओलिभर एलेन्बासको स्थानमा फ्रेड क्लासेन र टिम भान डर गुग्टेन टोलीमा थपिएका छन्।
नेपाली टिम:
रोहित पौडेल (कप्तान) आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा
नेदरल्यान्ड्स टिम:
म्याक्स ओ’डाउड, विक्रमजित सिंह, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, तेजा निदमानुरु, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, रोलफ भान डर मर्व, काइल क्लेन, फ्रेड क्लासेन र टिम भान डर गुग्टेन
नामिबियाको टिम:
जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे र मलान क्रुगर