वीरगञ्ज | बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कसपमा भएको बिस्फोटमा परी घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ। वर्कसपमा भएको बिस्फोटमा परी घाइते भएकामध्ये पाँच जनामध्ये मृत्यु हुनेको संख्या दुई पुगेको छ।
घाइते भएकामध्ये सोमबार राति उपचारको क्रममा भारतको गवाईका ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। जयसवालको राति १० बजे मृत्यु भएको हाे। सोमबार वर्कसपमा भएको बिस्फोटमा परी वर्कसप सञ्चालक निजगढ नगरपालिका- ५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको थियो।
वर्कसपमा ग्यास सिलिन्डर बिस्फोट भएको भनिए पनि प्रहरी प्रवक्ता न्यौपानेले शंकास्पद वस्तु बिस्फोट भएको बताए। यद्यपि के बिस्फोट भएको हो भन्ने बारेमा ल्याबमा परीक्षण पछि थाहा हुने उनले जानकारी दिए। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी छ। बिस्फोटमा परि घाइते हुनेहरूमा नगरपालिका- ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापा, पर्साको वीरगञ्ज महानगरपालिका-९ बस्ने ३४ वर्षीय फिरोद देवान, र भारतको रामगढवाका २० वर्षीय अरविन साह अस्पतालमा उपचार भइरहेको छ।