परवानीपुर । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल परवानीपुरले ४९ औं वार्षिकोत्सव मनाएको छ । अस्पतालको सभाहलमा आयोजित समारोहको उद्घाटन गर्दै वीरगंजका समाजसेवी एवं उद्योगी मुरलीधर रूँगटाले मध्यतराईका जिल्लाका साथै छिमेकी भारतीयहरूले पनि अस्पतालबाट सेवा लिंदै आएको बताए । उनले अस्पतालले सामाजिक उत्थानमा प्रभावकारी भूमिका निर्वाह गरेको बताए । उनले आगामी दिनमा पनि यस अस्पतालको सेवा प्रभावकारी बनाउने बताए ।
कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले अस्पतालले ५० वर्ष प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै सबैलाई बधाई दिए । अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेश केडियाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका वरिष्ठ प्रशासक प्रकाशकुमार वर्माले ४९ वर्षको उपलब्धिबारे चर्चा गरेका थिए । कार्यक्रममा नेपाल नेत्र ज्योति सङ्घ पर्साका सभापति भगवतीप्रसाद चौधरी, परमेश्वरीदेवी केडिया, डा सरिता यादव, वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार केडिया, रमेश अग्रवाल, सुनील केडियालगायतको सहभागिता थियो ।
अस्पतालले हालसम्म २३ लाख व्यक्तिको आँखा जाँच र साढे पाँच लाख आँखाको शल्यक्रिया गरेको बताइएको थियो । सो अवसरमा अस्पतालका नेत्र विशेषज्ञ डा गोविन्द गुरुङ, अप्थालमिक असिस्टेन्ट लालबाबू पटेल, आई वर्कर राजेशबहादुर अधिकारीलाई सम्मानित गरिएको थियो । सो अवसरमा राजमार्गमा हिंड्ने सवारी चालकहरूको आँखा परीक्षण गरिएको थियो ।