सप्तरी । सप्तरी लगायत तराई मधेशका महिला अहिले गोबरको गोरहनी बनाउन व्यस्त छन् । ग्रामीण भेगमा अझै पनि परम्परागत चुल्होमा गोबरको गोरहनी बालेर खाना पकाउने गरिन्छ। हिजोआज खेतबारीको काम खासै नरहेकाले महिला गोरहनी बनाउन व्यस्त छन् । महादेवा गाउँपालिका–२, कजौलीकी खेमादेवी यादवले कात्तिकदेखि चैत महिनासम्म गोबरको गोरहनी बनाउने गरिएको बताउनुभयो । उहाँले यो समयमा पानी नपर्ने भएकाले खेतबारीमा खासै काम नहुने, यही मौकामा गोबरको गोरहनी तयार पार्ने गरेको बताउनुभयो । “गाउँ घरमा दाउराका लागि नजिकै जङ्गल छैन, त्यसैले गोरहनी बालेरै खाना पकाउनु पर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।
मधेशमा आर्थिक अवस्था राम्रो रहेको परिवारले गोरहनीको प्रयोग गर्न छाडेर एलपी ग्यास राखे पनि गरिब, विपन्न र दलित परिवार अझै गोरहनीकै भरमा खाना पकाउने गर्छन्। अहिले यहाँ प्रत्येक ग्रामीण बस्तीमा जाँदा बाटोको छेउमा जताततै गोबरको गोरहनी सुकाएको देखिन्छ । हिउँदभर तयार पारिएको गोरहनी वर्षायाम सुरु भएपछि पानीले नभिज्ने गरी एकै ठाउँमा चाङ लगाएर राख्ने गरिन्छ । बस्तुभाउको गोबरमा पराल र घाँसपातको मिश्रण हालेर गोबरको गोरहनी बनाउने गरिन्छ । एउटा गोबरको गोरहनीबाट एक परिवारमा एक छाक खाना राम्रोसँग पाक्ने यादवले बताउनुभयो । अरू बेलाको गोबर खेतबारीमा हाले पनि हिउँदमा केही दिनको गोबरबाट गोरहनी बनाउने गरिएको छ।
राजविराज नगरपालिका–१, डुमरीका बुधेश्वर यादवले अहिले फुर्सदको समयमा सबैले आ–आफ्नो घरमा गोरहनी बनाइरहेको बताउनुभयो । “अहिले खेतबारीको काम खासै नभएकाले सबैले गोरहनी बनाएका हुन्, यादवले भन्नुभयो, “मधेशमा ग्याँसको प्रयोग बढे पनि गोरहनीको प्रचलन पनि हराएको छैन ।”अग्नि सायर कृष्णा सवरण गाउँपालिका–४ बनौलीका वडाध्यक्ष तेज नारायण यादवले वैकल्पिक इन्धनका रूपमा गोरहनीको प्रयोग हुने गरेको बताउनुभयो । अतिविपन्न र सुकुम्वासी परिवारमा वैकल्पिक इन्धनका रूपमा गोरहनी प्रयोग हुने गरेको वडाध्यक्ष यादवको भनाइ छ । मधेशमा वन जङ्गल मासिएसँगै ग्रामीण भेगमा गोरहनीको थप अभाव खड्किएको स्थानीय बताउँछन् ।