बारा । आफ्नो श्रीमान्लाई परिवारका सदस्यहरुले बेपत्ता पारेपछि कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडाकी निराकुमारी राम बिचल्लीमा परेकी छिन । सोही ठाउँ बस्ने श्रीमान् दिपेश गुप्तालाई परिवारका सदस्यहरुले नै वेपत्ता पारेको भन्दै ९ महिनाकी एक छोरीकी आमासमेत रहेकी निराले बिहीवार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरी खोजतालास गरि दिन माग गर्नुभएको छ ।
निराले दिएको जानकारी अनुसार वर्ष २२ का सहपाठी गुप्तासंग कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्दैगर्दा प्रेम सम्वन्ध कायम भएको र हाल उनीहरुको ९ महिनाको छोरा समेत रहेको छ । तर श्रीमान्लाई बेपत्ता तुल्याएर घरपरिवारका सदस्यहरुले आफूलाई घरमा बस्न नदिएको र छोरीको जन्मदर्ता पनि नगराएको निराले बताउनुभएको छ । ‘मेरो बिचल्ली भयो, निराले भन्नुभयो, अब कहाँ गएर कसरी गुजारा गर्ने ।’ श्रीमान गुप्ता आफूलाई स्वीकार गर्न तयार रहेको भएपनि परिवारका सदस्यहरुले श्रीमान्बाट अलग पार्न उनलाई बेपत्ता पारेको निराको भनाई छ ।
आफू दलित भएको कारण देखाउदै ससुरा बिदेश्वरी साह, काका ससुरा राजेश साहलगायतले श्रीमानलाई बेपत्ता पारेको र आफूलाई अस्वीकार गरेको निराले बताउनुभयो ।२ वर्ष अगाडि निरा र दिपेशले नारायणघाटको एउटा मन्दिरमा गरेर भागी विवाह गरेका थिए । विवाहपछि श्रीमान दिपेशसंगै नारायणघाटमा बस्दै आउनुभएकी निरालाई जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पक्राउ गरि कलैया ल्याएको थियो । गहिरो प्रेम सम्बन्धमा बाँधिएका दुबै जना दोस्रोपटक पनि भागेर फेरि भरतपुरमा नै बस्न थालेका थिए । तर अभिभावकहरुले निरालाई भरतपुरमै अलपत्र अवस्थामा छोडेर दिपेशलाई बलजफती अपहरण शैलीमा गाउँमा ल्याएको र डेढ वर्षदेखि बेपत्ता पारेको निराको भनाई छ ।
विवाहका लागि कानुनी रुपमा उमेर पुगिसक्दा आफू ४ महिनाको गर्भवती रहेको पनि उहाँले सुनाउनुभयो ।‘घरमा जादा त दलितको छोरीलाई हामी स्वीकार गर्दैनौं भनेर घरमा पस्न पनि दिदैनन, अब म कहाँ गएर बस्ने ।’ निराले भन्नुभयो । आफूले न्यायको लागि जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिएको पनि करिब ढेड वर्ष भयो तर कुनै सुनवाइ नभएको निराको भनाइ छ ।यता, निराका बुबा लालबहादुर र आमा चन्दा देवी रामले ज्वाईलाई बेपत्ता पार्नेहरुलाई करबाही गर्न माँग गरेका छन । यो समाचार यात्रा डेलीबाट साभार गरिएको छ।