वीरगंज । आन्दोलनरत शिक्षक सङ्गठनले आज पनि काठमाडौँ केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन् । गत असोज ३ गते देखी देशैभरका सरकारी शिक्षकहरू जम्मा भएर काठमाडौँमा आन्दोलन गरे पछि राजधानीको दैनिकी अस्तव्यस्त बन्न पुगेको छ । आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठनसमेत प्रभावित भएको छ ।
प्रधानाध्यापकदेखि शिक्षकहरू समेत काठमाडौँ पुगेपछि बुधवारदेखि देशभरका सामुदायिक विद्यालय सञ्चालन हुन सकेको छैन । आज पनि विद्यालयहरू बन्द रहने भएको छ । सरकारले हालै ल्याएको शिक्षासम्बन्धी विधेयकले सरकारी शिक्षक, राहत शिक्षकलगायतलाई अन्याय गरेको भन्दै त्यसलाई सच्याउने मागसहित शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन । उनीहरूले आफ्नो माग पुरा नभएसम्म काठमाडौँ नछाड्ने अडान लिए पछि सरकार अप्ठ्यारोमा परेको छ । यता, शिक्षक सङ्गठनको आन्दोलनले काठमाडौँ उपत्यकाको ट्राफिक अवस्था अस्तव्यस्त हुन पुगेको छ ।
जसका कारण हिजो दिनभरि काठमाडौँ उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएको थियो भने माइतीघर बानेश्वर सडक खण्डमा सवारी आवतजावत रोकिएको थियो । आज पनि आन्दोलन जारी रहने भए पछि काठमाडौँ उपत्यकाको सवारी आवतजावत पुरै प्रभावित हुने बताइएको छ । यद्यपि, आन्दोलनकारी शिक्षक र सरकार बिचमा आज पनि वार्ता हुने भएको छ ।
गत असोज ३ देखी देशैभरका शिक्षक जम्मा भएर काठमाडौँ केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरूलाई वार्तामा बोलाएर समाधान खोज्न खोज्न लागेको हो । हिजो बिहान र साँझ भएको वार्ता असफल भए पछि आज पनि वार्ता हुन लागेको हो । वार्ता आज बिहान ८ बजेदेखि सुरु भएको छ ।