वीरगंज । वीरगञ्जमा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । वीरगञ्ज महानगरपालिकाअन्तर्गतको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाको आयोजनामा आइतबार “आशा जोगाऔँ, जीवन बचाऔँ” भन्ने नारा सहित विश्व आत्महत्या दिवस मनाइएको हो ।
सो अवसरमा टीपीओ नेपाल र त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान वीरगञ्ज नर्सिङ क्याम्पससँगको सहकार्यमा वीरगञ्जमा जनचेतनामूलक र्याली पनि निकालिएको थियो । र्याली नगर परिक्रमा गर्दै नारायणी अस्पतालमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. रामप्रकाश साहले विश्वमै अहिले आत्महत्याका घटना बढिरहेको धारणा राखे ।
गरिबी, अशिक्षा, बेरोजगारी, घरेलु हिंसा, मानसिक तनावलगायत विविध कारणले आत्महत्याका घटना बढिरहेको उनको भनाइ थियो । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले मानसिक स्वास्थ्यमा ध्यान नपुर्याउँदा पनि आत्महत्याको घटना बढ्दै गइरहेको औँल्याए । सही समयमा परामर्श र उपचारको व्यवस्थापन गर्न सकिने आत्महत्या जस्ता घटनाहरूलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने उनीहरूको धारणा थियो ।