वीरगंज । सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटेको छ । कर्फ्यु हटाएर ७२ घण्टे निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिएको छ ।मलंगवा बजार क्षेत्रमा निषेधाज्ञा अवधिधर भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिंग गर्न नपाइने जनाइएको छ । गत शुक्रबार प्रत्येक बर्ष लाग्दै आएको कृष्णाष्टमी पूजा सम्पन्न भएपछि मूर्ति सेलाउन गर्न जाने बेलामा बाटोमा पर्ने मस्जिदस्थित मुस्लिम समुदायका केही व्यक्तिहरुले ढुँगा र गरम पानी फालेपछि दुई पक्षबीच अवस्था तनावमय बनेको थियो ।
सो अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसे ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कफ्र्यु जारी गरेको थियो ।स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क)(१)(३० बमोजिम जारी गरिएको कर्फ्युहटाईएको छ । तर सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै आज बिहानबाट कर्फ्यु हटाएपनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क)(२)(१) र दफा ६(ख) को (१) (ग) बमोजिम आज ८ बजेदेखि २७ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
उनले मानव अधिकारको समान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेका छन्। सार्वजनिक स्थानहरुमा हो हल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकपालपहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न नगराउन आह्वान गर्दै सामाजिक सद्भाव समेत कायम राख्न आग्रह गरेका हुन् । विवादको क्रममा दुई समुदायबिच झडप र ढुंगामुढा भएको थियो। लगत्तै प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउण्ड हवाई फायर गर्दै भीड तितरबितर पारेको थियो। बजारको अवस्था तनावमय बन्दा जारी भएको कर्फ्यु हटेपछि मानिसहरुको चहलपहल बड्न थालेको छ । साथै मलंगवाबाट चल्ने साना तथा लामो दुरीका यातायातका साधन चल्न थालेको छ ।