वीरगंज । बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्जमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । प्रहरीका अनुसार बाँकेकाे राप्तीसोनारी गाँउपालिका वडा नम्बर ८ शमशेरगन्जमा शुक्रबार राति सवा ९ बजेतिर दुर्घटना भएको हो ।
दाङबाट नेपालगन्जतर्फ गइरहेको ना७ख २३२१ नम्बरको बस शमशेरगन्जमा पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए । बसमा चालकसहित ४१ जना सवार थिए । दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६० वर्षीय सानुराम थारू र चालक ४५ वर्षीय जुगबहादुर चन्दको मृत्यु भएको हो ।
अर्का मृतक सहचालक करिब ३५ वर्षीय पुरुषको नामथर खुलेको छैन । घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दाङबाट बर्दियातर्फ फर्कंदै गरेको ठाकुरबाबास्थित बेतनी सामुदायिक वन उपभोक्ता समूहको टोली सवार बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी पाएको तिवारीले बताए ।