वीरगंज । एसिया कप क्रिकेटमा भारतविरुद्धकाे खेलमा नेपालका लागि सर्वाधिक रन बनाएका ओपनर व्याटर आसिफ शेखलाई सामाजिक अभियन्ता बृजेश्वरप्रसाद चाैधरीले नगद पुरस्कार दिने घाेषणा गरेका छन् ।वीरगन्जका सामाजिक अभिन्ता चाैधरीले वीरगन्जकै निवासी आसिफलाई नगद ११ हजार रुपैंया दिने घाेषणा गरेका हुन् ।
साेमबार भएकाे खेलमा भारतविरुद्ध आसिफले ८८ बलमा ५८ रन बनाएका थिए ।भारतविरुद्धकाे खेलमा आसिफले नेपालका लागि पुर्याएकाे याेगदान र उनकाे खेल क्षमताबाट प्रभावित भएर आफुले प्रोत्साहन राशी दिने घोषणा गरेकाे चौधरीले बताए।उनले भने “म खासै खेल नहेर्ने मान्छेलाई पनि साेमबार नेपाल र भारतबिचको खेलले भावुक बनायो ।
नेपाली खेलाडीले सिमित स्रोतसाधनका बावजूद तयारी गरेर भारतका दिग्गज अन्तर्राष्ट्रिय खेलाडीलाई टक्कर दिनु आफैंमा ठुलो कुरा हाे, यसले विश्व क्रिकेटमा नेपालकाे पहिचान र शान बढाएकाे छ ।”वीरगन्जमै क्रिकेट खेल्दै हुर्किएका आसिफले भारतविरुद्ध नेपालका तर्फबाट ५८ रन बनाएर विश्वसामु वीरगन्जसहित देशकै नाम चर्चामा ल्याएकाेले आफ्नो हैसियत अनुसारकाे नगद पुरस्कार दिने घोषणा गरेको चौधरीले बताए ।