वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा भएको छ । पर्साका डिएसपी द्वय दिपक गिरी र निर्मल बुढाथोकीको सरुवा भएको हो । गत वर्षको साउनमा पर्सामा सरुवा भएर आएका गिरी र बुढाथोकीको एक वर्षे कार्यकाल सकिएसँगै उनीहरूको गृह मन्त्रालयअन्तर्गतको नेपाल प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।
गिरीलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा सरुवा गरिएको छ । बुढाथोकी भने नेपाल प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय कल्याण महाशाखा नक्सालमा सरुवा भएका छन् । गिरी र बुढाथोकीको ठाउँमा कुमार विक्रम थापा र धुब्र कुमार श्रेष्ठ आउने भएका छन् । थापा हाल नेपाल प्रहरी अनाश्रित गुल्म काठमाडौँमा कार्यरत रहेका छन् भने श्रेष्ठ काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर महाराजगञ्जमा कार्यरत छन् ।
बाराका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेको पनि सरुवा भएको छ । उनको ठाउँमा अपराध अनुसन्धान सुपरिवेक्षण तथा अनुगमन शाखा नक्सालबाट दधिराम न्यौपाने आउने भएका छन् । पर्सा, बारासहित शुक्रवार नेपाल प्रहरीका १ सय २० जना डिएसपीहरूको सरुवा भएको छ । भदौदेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।