वीरगंज । काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बलेन) ले आफ्नी श्रीमती चढेको गाडी चेकजाँचका लागि प्रहरीले रोकेको विषयमा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई पनि धम्की दिएका छन् । पत्नी सबिना सवार गाडी कोटेश्वरका नियमिच जेकचाँजमा केही समय रोकेको विषयलाई लिएर बालेनले सामाजिक सञ्जालमा सिंहदरबार जलाउने धम्की दिएका छन् । बालेनले प्रजिअ बस्नेतलाई टेलिफोन गरी काठमाण्डु महानगरपालिकाका कुनै पनि गाडी ट्राफिक प्रहरीले रोक्न नमिल्ने जिकिर गरे ।
बस्नेतले प्रहरीले को कताको नभनी सबैलाई आवश्यक चेकजाँच र सोधपुछ गर्न सक्ने बताएपछि थप आक्रोशित हुँदै आफ्नी श्रीमती चढेको गाडी रोक्न नमिल्ने तर्क गरे । ‘महानगरको गाडी ट्राफिकले रोक्न मिल्दैन । झन् मेयर र मेयरको परिवार चढेको गाडी त प्रहरीले रोक्नै मिल्दैन’, उनले भने । प्रजिज बस्नेतले के भएको रहेछ बुझेर खबर गर्ने जवाफ दिए । तर, बालेनले आफूलाई धेरै नजिस्काउन भन्दै फोन राखे । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले सडकमा चेकजाँच हुँदा वा शंका लाग्दा जसको गाडी पनि प्रहरीले रोक्न र सोधपुछ गर्न सक्ने बताए ।
उनका अनुसा सरकारी बिदाका दिन गाडी चलाउँदा अनुमति लिएको छ कि छैन भनेर सामान्य सोधपुछ मात्र भएको थियो । ‘गाडीमा को हिंडेको हुन्छ भन्ने प्रहरीलाई थाहा हुँदैन । जुन सुकै ओहोदामा भएको वा ओहोदामा भएकाहरुको परिवारका सदस्य चढेको गाडी जाँच गर्न मिल्दैन भने अरुलाई चाहिं किन गर्ने भन्ने हुन्छ नि’, उनले भने । महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन) पत्नी सबिना काफ्ले सवार गाडी ट्राफिक प्रहरीले चेकजाँचका क्रममा जम्मा ३० देखि ४५ सेकेण्ड मात्र होल्ड गराएको कोटेश्वर ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।