वीरगंज । एलपी ग्याँसको कालो बजारी गरेको आरोपमा पर्सा प्रहरीले एक जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका – ४ स्थित बहुअरी पिडारीमा बिराज ट्रेडर्सका भरत साह तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भरत बिराज ट्रेड्सका सञ्चालक अनिल साहका पिता हुन् ।
एलपी ग्याँसको सिलिन्डर हुँदाहुँदै पनि उपभोक्तालाई फिर्ता पठाएर ठगी गर्न खोजेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी डकैला बहुअरीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) नगिना प्रसाद यादवले जानकारी दिए ।असई यादवका अनुसार पक्राउ परेका भरतले आजदेखि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लागू नहुँदै उपभोक्तासँग वृद्धि भएको रकमसहित पैसा लिएका छन् । पैसा लिए पनि उनले उपभोक्तालाई ग्याँस लिन भने १२ बजे पछि आउन भनेको असई यादवले बताए ।
‘पसलमा भरेको ग्याँस सिलिन्डर हुँदाहुँदै पनि छैन भनेर उपभोक्तालाई फिर्ता पठाउने र एडभान्स रकम लिएको गुनासो आएपछि हामी आफ्नो टोलीसहित त्यहाँ पुगेका थियौँ,’ यादवले वीरगंज संजालसँग भने, ‘पुग्दा पसलमा २५-३० वटा ग्यास सिलिन्डर भरेको अवस्थामा मौज्दात रहेको पायौँ । त्यसपछि भरतलाई नियन्त्रणमा लिएका हौँ ।’ भरतलाई नियन्त्रणमा लिएर अहिले प्रहरी चौकी डकैला बहुअरीमै राखिएको पनि उनले जानकारी दिए ।