वीरगंज । पर्साको ठोरी गाउँपालिकामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ठोरी गाउँपालिका – ५ सुवर्णपुरमा स्थानीय ५० वर्षीय कान्छालाल दोङको बाघको आक्रमणबाट मृत्यु भएको हो । घर नजिकको बारीमा उनको शव बुधवार राति करिब ७ बजे फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष राईका अनुसार बुधवार बिहान करिब ११ बजे कान्छालालले घरको केही दुरीमा रहेको बारीमा चरनका लागि २ वटा गोरु बाँधेका थिए । दिउँसो करिब २ बजे गोरुको अवस्था हेर्न गएका उनी त्यसपछि फर्केर आएनन् । परिवारजनले कान्छालाल नफर्केपछि प्रहरीको सहयोगमा खोजतलास गरेका थिए । एउटा गोरु भने बाँधेको किला फुत्काएर घरमा आएको थियो ।
बारीमा गएर हेर्दा अर्को गोरु बाघको आक्रमणमा परी घाइते अवस्थामा भेटिएको थियो । त्यहाँबाट करिब ५० मिटरको दुरीमा खाल्डोमा कान्छालालको शव भेटिएको थियो । दोङको गाला, घाँटी, टाउको, हात लगायत शरीरका विभिन्न स्थानमा बाघको नङको निशान भेटिएको इन्स्पेक्टर राईले बताए ।