वीरगंज । धनुषामा २४ घन्टाभित्र दुई वटा ट्रान्सफर्मर चोरी भएका छन्। मंगलबार राति बटेश्वर गाउँपालिका-५ शान्तिपुरस्थित खेतमा सिंचाइका लागि जडान भएको ५० केभीको ट्रान्सफर्मर चोरी भएको हो। विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख रोशन सिंहका अनुसार एघार हजार भोल्टको तारमा सट गराई लाइन काटेर अज्ञात व्यक्तिले ट्रन्सफर्मर चोरी गरेका हुन्।
सोमबार मिथिला नगरपालिका-२ स्थित नक्टाझिजको हजराचोकबाट २५ केभीको ट्रान्सफर्मर चोरी भएको थियो। जनता माध्यमिक विद्यालयमा जडान भएको टान्सफर्मर पनि एघार हजार भोल्टमा सट गरी लाइन काटेर चोरी भएको वितरण केन्द्र प्रमुख सिंहले बताए। उनकाअनुसार जनकपुर-ढल्केवर सडक खण्डको छेउमै रहेको टान्सफर्मर चोरले तल झारेर क्वाइल चोरी गरेका थिए। गत भदौ ७ गते राति पनि मिथिला नगरपालिका-५ स्थित विश्रामपुरमा जडान गरिएको खानेपानीको २५ केभीको टान्सफर्मर चोरी भएको थियो।
त्यसअघि पनि धनुषाबाट ट्रान्सफर चोरीका घटनाहरू भए पनि प्रहरीले चोर पक्राउ गर्न चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले ट्रान्सफर्मर चोरी गर्नेले टेक्निकल कुरा बुझेकाले सहजै चोरी गरिरहेको बताए। उनकाअनुसार चोरको खोजीकार्य जारी छ। ‘हामीले अनुसन्धान नगरेको होइन। एक जनालाई पक्रेर मुद्दा पनि चलाएका छौं। अरू चोर खोजी गर्न प्रहरी लागेको छ,’ उनले भने।