रौतहट । वाग्मती नदीमा नुहाउँदै टिकटक बनाउन गएका एक युवक मंगलबार दिउँसो बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रौतहटको माधवनारायण नगरपालिका-४ मानपुर माईदिया गाउँका सोगारत पासवानका २३ वर्षीय छोरा सुनिल पासवान छन् । नदीमा नुहाउन तीन जना गएका थिए । दुई जना सकुशल छन् ।
बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले खोजी जारी भए पनि फेला नपरेको बताए । खोजीमा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ । प्रहरीका अनुसार सुनिलसँगै उनका बहिनीज्वाइँ पवनकुमार पासवान र १२ वर्षीय सुदीपकुमार पासवान थिए ।
नदी नियन्त्रणका लागी बनाइएको स्पर नजिक पवन र सुनिल पौडी खेल्दै टिकटक बनाउदै थिए भने १२ वर्षीय सुदीप कम पानी भएको स्थानमा नुहाइरहेका थिए । स्परको गहिरो छालमा परेर पवन अचानक डुब्न थालेपछि सुनिलले उद्धार गरेर बाहिर ल्याएका थिए । तर, सुनिललाई त्यही बेला छालले बगाएर बेपत्ता पारेको प्रहरीले जनाएको छ । टिकटक बनाउने क्रममा पानीको छालले लैजान्छ भन्ने दुवैलाई हेक्का नभएको प्रहरीको भनाइ छ । वाग्मती नदीमा पानीको बहाव बढेको छ । खोजीकार्य गाह्रो भएको प्रहरीले जनाएको छ ।