वीरगंज । वीरगन्जमा साहिब दरबार नामक संस्थाकाे आयाेजनामा सम्पन्न निशुल्क आँखा जाँच शिविरबाट ३४१ जना विद्यार्थीले लाभ लिएका छन् । माइस्थान विद्याथपीठ उच्च माद्यमिक विद्यालयमा सोमबार आयाेजित निशुल्क आँखा जाँच शिविरमा ३४१ जना विद्यार्थीकाे आँखा जाँच गरिएकाे हाे। विगत केही समय यतादेखि आँखा पाक्ने रोगको संक्रमण फैलिएकाले त्यसलाई नियन्त्रण गर्न साहिब दरबारले निशुल्क शिविर संचालन गर्दै आएकाे छ ।
साेमबारसाहिब दरबार र सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ३४१ जना विद्यार्थीको आँखा जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए ।आँखा जाँच गरिएका विद्यार्थी मध्ये २० प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या (आई फ्लु) भेटिएको र त्यो नियन्त्रणको क्रममा देखिएको सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए । यस्तै जाँच गरिएकामध्ये ५३ जना विद्यार्थीमा भने दृष्टि दोषको समस्या देखिएको पनि उनले बताए ।
आँखा पाक्ने समस्या देखिएका विद्यार्थीलाई शिविरमा निशुल्क औषधी समेत उपलब्ध गराइएको शिविरमा खटिएका दृष्टि विशेषज्ञ अञ्जली मेहताले जानकारी दिइन् । साहिब दरबार र सामुदायिक आँखा अस्पतालको आयोजनामा महानगरका विभिन्न विद्यालयमा आँखा जाँच शिविर संचालन भइरहेको छ ।आगामी मंगलबार पनि त्यही विद्यालयमा शिविर संचालन हुने साहिब दरबारका अध्यक्ष सहनीले जानकारी दिए । सोमबार सम्पन्न शिविरमा साहिब दरबारका प्रेरणा श्रेष्ठ, सुरज गुप्ता, रमितामाया गुप्ता, अवधेस यादव, हफिज मियाँ लगायतको समेत उपस्थिति रहेको थियो ।