वीरगंज । तराईको उरखमाउलो गर्मीमा पिपलको रुखमुनीको छहारीमा बसेर सुस्ताउँदै गरेको अवस्थामा भेटिए ७४ वर्षिय मंगल साह ।छेउमै रहेको गण्डक नहर तर्फ देखाँउदै मंगलले भने,‘ पानीको यस्तो अकाल त आफनो जिवनमा केहिलेपनि देखेको थिइन् , न चापकलमा पानी छ न नहरमा । पानी पटाउन नसक्दा धान खेतमा दरार परिसक्यो । यो सालको खेती त भगवानै भरोसा छ । काशे पानीको भरमा धानखेती गर्दै आएका यहाँका किसान लामो समयदेखिको खडेरीले पिडामा छन् । त्यसैमा गण्डक नहरमापनि पर्याप्त पानी नआउँदा किसानको गर्जो टर्न सकिरहेको छैन । मंगलकै छिमेकी बाराको महागढीमाई नगरपालिका ७ तेलकुवाँका किसान बिगु यादव भन्छन्,‘ खडेरी र सुख्खाले खेतमा भएको बोरिङ पनि सुकिसकेको छ । पम्पीसेटले पानी पटाउँ भने नहरमा पनि पानी प्रयाप्त छैन ।’
तेलकुवाँकै अर्का किसान हृदय यादव भन्छन्,‘ यसपालि त वर्षापनि त्यति भएन । खेत छेउमै गण्डक नहर त छ तर नामको मात्रै ।नहरमा यति थोरै पानी आइरहेको छ कि पम्पीसेटले तान्नपनि पुग्दैन । यो गण्डक नहर त हाम्रा लागि आकाशको फल जस्तै भएको छ । भारतीय पक्षले विगत एक दशक यतादेखि गण्डक नहरमा दुई देशबिचको सम्झौता अनुसारको पानी नदिदाँ नहरमा आश्रित पर्सा , बारा र रौतहट गरि तीन जिल्लाका किसानहरु वर्षेनी समस्यामा पर्ने गरेका छन् । त्यसैमा यसवर्ष तराई मधेसमा लामो समयदेखिको खडेरी परेका कारणलेपनि अहिले धान खेतीको सिजनमा किसानहरुमाथि पिडा झन् थपिएको छ । नेपाल–भारत बिचको गण्डक सम्झौता अनुसार नेपाल तर्फको नहरमा भारतले ८ सय ५० क्युसेक प्रतिसेकेण्ड पानी दिनुपर्ने उल्लेख छ । तर आर्थिक वर्ष २०७०/७१ यतादेखि भने भारतले नेपाल तर्फको नहरमा सम्झौतामा उल्लेख गरिएको भन्दा झण्डै आधा परिमाणमा मात्र पानी दिने गरेको नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत एंव इन्जिनियर सुरेश साह बताउछन् । उनका अनुसार , यसपाली धानबालीको सिजनका लागि भारतीय पक्षले दुइमहिना ढिला गरि असार १५ गतेदेखि मात्रै पानी दिन सुरु गरेको थियो । त्योपनि सुरुमा २ सय क्युसेक मात्र पानी नेपाल तर्फको नहरमा भारतले छोडेका थियो । त्यसपछि पटक पटकको आग्रह र दबाब दिएपछि विस्तारै बढाउदै लगेर भारतले आइतबार ५ सय क्युसेक पानी दिएको साह बताउछन् । साह भन्छन्,‘ आव २०६९/७० सम्म सम्झौता अनुसारकै पानी नहरमा भारतबाट आउँथ्यो ,तर त्यसपछि एक दशक भइसक्यो आधा मात्रै पानी नहरमा भारतले दिइरहेको छ ।हामी भारतको रामनगरस्थित गण्डक नहरको दोन कार्यालयमा पटक पटक गएर भेट्छौ। सम्झौताको कुरा गर्छौ तर सुनुवाइ भने आजसम्म हुन सकेको छैन । जति कराएपनि उसले सम्झौताको आधामात्रै पानी दिइरहेको छ ।
भारतले सम्झौताको आधामा मात्र पानी नहरमा दिइरहेका कारण अहिले पर्सा र बारामा ३/३ दिनको आलोपालो गरेर पानी वितरण गरिरहेको बताउदै साह भन्छन्,‘ बारामा पनि १२ नम्बर ब्लक सम्ममात्र पानी पुग्न सकेको छ । रौहतट जिल्लाको त कुरैै नगरे हुन्छ , रौतहटको नहरमा त नहर बनेको समयदेखि नै पानी पुरयाउनै सकिएको छैन । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरि तीन जिल्लाका ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य हो । तर भारतले सम्झौताको आधा मात्रै पानी दिदै आएका कारण रौतहटमा अहिलेसम्म पानी पुरयाउनै नसकिएको साह बताउछन् । साह भन्छन्,‘ आकाशे पानी परेको छैन , नहरमा पानी आधामात्रै आइरहेको छ ,त्यसका कारण पर्सा र बाराको नहरमा ३/३ दिनको आलोपालो गरि पानी दिइरहेका छौ । खडेरीले छट्पटिएका किसानहरु नहरको पानीका लागि मारामार गरिरहेका छन् । हामीलाई थेग्नै गाह्रो भइरहेको छ । उनि थप्छन्, किसानकाे खेतमा पानी पुर्याउन रातभर गाडीमा कुद्नु परिरहेकाे छ, कति रात त सुत्नपनि पाएका छैनाै । भारतीय पक्षले आफनो तर्फको नहरमा पर्याप्त पानी छाड्ने गरेको तर नेपाल तर्फको नहरमा सम्झौताको आधा मात्रै पानी दिएर विभेद गरिरहेकोपनि साह बताउछन् । गण्डक नहरको त्रिवेणीस्थित मुहानबाट भारतीय पक्षले गण्डक नहरतर्फ १ हजार ५ सय क्युसेक पानी छोडेको छ । तर भारतीय भूमि हुँदै नेपालसम्म आउँदा नेपाल तर्फको गण्डक नहरमा ५ सय क्युसेक भन्दा कमै पानी आईरहेको साह बताउछन् । सबारेमा भारतीय पक्षलाई पटक पटक भेटेर गुनासो गर्दा उनिहरुले नहरको संरचना पुरनो भइ कमजोर भएका कारण नहरमा कम पानी छाड्ने गरेको बहाना बनाउदै आएको साह बताउछन् ।