वीरगंज । दुई दिनदेखि परेकाे वर्षाले भेडाहा खाेलामा बाढी आपछि वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का गाँउहरु डुबानमा परेका छन् भने किसानका धानखेतमा पनि बाढी पसेकाे छ । भेडा खाेलाकाे बाढी लालपर्सा र परसाेतीपुर गाँउमा पस्दा बगही गाँउ जाने बाटाे अवरुद्ध भएकाे छ भने किसानका ५० बिघा भन्दा बढी धान खेत डुबानमा परेकाे छ ।
यसैबिच पूर्व मन्त्री एवं संघीय सांसद प्रदीप यादव र वीरगन्ज महानगर मेयर राजेशमान सिंहले भेडाहा खोलाका कारण डुबानमा परेका लालपर्सा र प्रसोतीपुरको मंगलबार बिहान स्थलगत अवलोकन गरेका छन् । स्थलगत निरीक्षण गर्दै पुर्व मन्त्री यादवले भेडाहा खोलामा ड्याम लगाइए मात्रै यहाँ हुने डुबानको समस्या समाधान हुने र त्यसका लागि स्थानीयले नै सहयोग गर्नु पर्ने बताए।
डुबानको समस्या दीर्घकालिन रुपमा समाधानका लागि भेडाहा खाेलामा ड्याम लगाउने काम अघि बढेको र केही व्यक्तिका कारण अवरोध हुँदा ढिलाई हुन पुगेको भन्दै मेयर सिंहले काम चाडै सम्पन्न गराउन लागि परेको बताए । तत्काललाई बाढीकाे पानी निकासा हुने गरि व्यवस्था मिलाउने र डुबानमा परेकाहरुका लागि उचित राहतको ब्यवस्था मिलाउने पनि उनले बताए । भेडाहा खोलाको बाढी वीरगन्जको सिर्सिया नदीमा समेत आइपुगेको छ । अहिले सिर्सिया नदी पूर्ण रुपमा भरिएको छ ।