वीरगंज । पर्सा जिल्लामा बैंकिङ कसुरका मुद्दामा वृद्धि भएको छ। पर्सा प्रहरीको तीन वर्षको तथ्यांकअनुसार पर्सामा गत आर्थिक वर्षमा बैंकिङ कसुरका मुद्दामा ह्वात्तै वृद्धि भएको छ। प्रहरी तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा पर्सामा ६०२ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। जसमध्ये ५ सय २० वटा मुद्दा फर्स्यौट भएका छन् भने ८२ मुद्दा अझै बाँकी छन्।
आव २०७७/७८ मा जम्मा ७२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएकोका थिए। यस्तै, आव २०७८/७९ मा ३८४ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। गत आवमा बैंकिङ कसुरका मुद्दा वृद्धि भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।
गत आवमा कुल २ हजार २७२ वटा मुद्दा दर्ता भएका थिए। जबकि आव २०७७/७८ मा कुल १ हजार १७३ र आव ०७८/७९ मा १ हजार ८०३ मुद्दा पर्सा प्रहरीमा दर्ता भएका थिए। पर्सा प्रहरीमा दर्ता भएका २२ सय ७२ मुद्दामध्ये अधिकांश मुद्दा बैंकिङ कसुरका रहेकोले कुल मुद्दाको संख्या बढी देखिएको शाहले बताए।