वीरगंज । यसवर्षको सुबोध स्मृति पुरस्कार वीरगन्जका वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गरिने भएको छ ।वीरगन्जका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहद्वारा स्थापित ५१ हजार नगद राशिको सुबोध स्मृति पुरस्कार वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय गरिएको हो ।
प्रतीक प्रकाशन समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा बसेको बैठकले यस वर्षको सुबोध स्मृति पुरस्कार वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय गरेको प्रतीक दैनिकका सम्पादक शत्रुधन नेपालले जानकारी दिए । यसअघि यो पुरस्कार फोटो विधाका पत्रकार मात्रै प्रदान गरिंदै आएकामा गत वर्षदेखि भने अन्य विधाका पत्रकारलाई पनि प्रदान गर्न थालिएको हो ।
गत वर्ष यो पुरस्कार पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिएको थियो । नेपालका अनुसार, यसपालिको पुरस्कार प्रतीक दैनिकको वार्षिक उत्सवको अवसरमा आगामी भदौ १ गते एक कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ ।बैठकमा समूहका निर्देशक जगदीश प्रसाद शर्मा, मधुप शर्मा, व्यवस्थापक विकाश शर्मा , सहसम्पादक आरके पटेल, राधेश्याम पटेललगायतकोपनि सहभागिता थियो ।