वीरगंज । रामनिवास कुमार पटेल । आज साउन महिनाको पहिलो सोमबार। साउने सक्रान्तिको दिन सोमबार बिहानैदेखि वीरगंजको पशुपतिनाथ मन्दिर पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका ढोका खोलिएको छ।
मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाममा बसेका छन्। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। वीरगंजको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड लागेको छ।
विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ। सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको छ । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ। साउन १, ८, १५, २२ र २९ गते सोमबार परेको छ।