वीरगंज । रौतहटस्थित इलाका प्रहरी कार्यालय बञ्जरहामा कार्यरत प्रहरी नायब निरीक्षक मदनप्रसाद यादवले अवैध रूपमा भारतीय बैङ्कमा रकम जम्मा गरेको आरोप लगाएको छ । केही दिन अगाडि रौतहटकै ईशनाथ नगरपालिका वडा नम्बर १ बञ्जरहाका ओमप्रकाश साह, उमेश प्रसाद तथा भारतको विहार राज्यस्थित फूलबरिया ढाकाका राजाबाबू कुमारले छुटाछुट रूपमा यादवविरुद्ध भारतीय बैङ्कमा अवैध रूपमा पैसा जम्मा गरेको भनेर जिल्ला प्रशासन कार्यालय रौतहटमा किटानी जाहेरी दर्ता गराएपछि घटना बाहिरिएको हो । प्रहरी नायब निरीक्षक यादवले उजुरीकर्ताहरूका भारतीय आफन्तको विश्वास भारतमा रहेको उनीहरूको बैङ्क खातामा अवैध रूपले कमाएको १४ लाख भारतीय रुपियाँ जम्मा गरेको आरोप लागेको छ । जम्मा भएको रकमको स्रोत खुलाउन नसकेपछि बैङ्कले खाता रोक्का गरेर अनुसन्धान सुरु गरेपछि अवैध कारोबारको रहस्य बाहिरिएको हो । पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको उजुरीमा भारतको पूर्वी चम्पारण जिल्लाको फूलबरिया ढाका बस्ने ती भारतीय आफन्तहरूको बैङ्क खातामा अवैध रूपमा लाखौँ रुपैयाँ जम्मा भएपछि भारतीय बैङ्कले ती आफन्तहरूको खाता नै रोक्का गरेको जनाएका छन् ।
स्रोत नखुलेको अवैध रकम बैङ्क खातामा जम्मा भएपछि सबैको खाता रोक्का गरेर अनुसन्धान सुरु गरेको छ । बैङ्कको खाता रोक्का भएपछि खाता सुचारु गराउन नेपालमा रहेका उनीहरूका आफन्त ओमप्रकाश साह, उमेश प्रसाद र राजाबाबू कुमारले आफन्तका बैङ्क खातामा अवैध रूपमा रकम जम्मा गर्ने नायब प्रहरी निरीक्षक यादवविरुद्ध उजुरी दिएपछि यादवको कर्तुत बाहिरिएको हो । ओमप्रकाश साह, उमेश प्रसाद र राजाबाबू कुमारले छुट्टाछुट्टै निवेदन दिई आफन्तको नाममा फूलबरिया ढाकामा रहेको एसबिआई बैङ्कको खातामा प्रनानि यादवले अवैध रकम जम्मा गरेको गम्भीर आरोप लगाएका छन् । बैङ्क खातामा रकम जम्मा भएपछि बैङ्कले खाता नै बन्द गरिदिएको भन्दै कारबाहीका लागि यादवलाई पक्राउ गरी कारबाही गर्न र खाता खुलाउने मार्ग प्रशस्त गरिदिन उनीहरूले निवेदनमा उल्लेख गरेका छन् । ओमप्रकाश साहले दिएको निवेदनमा नातेदार भाइ सुकरितकुमार चौधरीको नाममा रहेको खातामा प्रनानि यादवले तीन लाख ९६ हजार, मसरुफ आलम र जफिर आलमसमेतको नाममा रहेको खातामा दुई लाख ९८ हजार, जफिर आलमको खातामा चार लाख रुपैयाँ पठाएको उल्लेख गरिएको छ ।
यस्तै, उमेशप्रसादले दिएको निवेदनमा प्रनानि यादवले भारतका आफन्तको खातामा रकम जम्मा गरेको उल्लेख गरेका छन् । प्रनानि यादवले कमलेश पटेलको खातामा दुई लाख र ललन प्रसादको खातामा पनि दुई लाख रुपैयाँ जम्मा गरेको उजुरीमा उल्लेख गरिएको छ । भारतीय नागरिक बरेवा फूलवरियाका राजाबाबू कुमारले दिएको निवेदनमा प्रनानि यादवले तीन लाख रुपैयाँ आफ्नो खातामा जम्मा गरेको बताइएको छ । लामो समयदेखि विभिन्न भन्सार तथा प्रहरी युनिटमा इन्चार्ज रहँदै आएका प्रनानि यादवले तस्करीबाट हुने कमाइलाई आफन्तको नाममा जम्मा गर्दै आएको स्रोतले दाबी गरेको छ । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा प्रनानि यादवविरुद्ध लिखित निवेदन परेपछि छानबिन प्रक्रिया अगाडि बढिसकेको बताइएको छ । आरोपित प्रनानि यादवलाई इप्रका, बञ्जरहाको जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय, गौरमा ल्याइ आवश्यक अनुसन्धान भइरहेको छ ।