वीरगंज । मोरङको कटहरी गाउँपालिका–२ मा शनिबार दिउँसो सुस्त मनस्थितिकी १ जना बालिका बलात्कृत भएकी छन् । छिमेकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वहवल्दारलाई पक्राउ गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बलात्कारमा संलग्न ४० वर्षीय गणेश राजवंशीलाई पक्राउ गरिएको हो । राजवंशी नेपाल प्रहरीका अवकाश प्राप्त हवल्दार हुन् । उनको घरमा किराना पसल पनि छ ।
प्रारम्भिक अनुसन्धानबाट आफ्ना छोरासँग खेल्न घरमा आएका बेला राजवंशीले ललाईफकाई बालिकालाई बलात्कार गरेको पत्ता लागेको दाहालले बताए । प्रहरीका अनुसार घटना दिउँसो २ बजेतिरको हो । तर, बालिकाको स्वास्थ्यमा समस्या भएको भन्दै आफन्त र परिवारका सदस्यले उपचारका लागि विराटनगर ल्याएपछि मात्रै घटना बाहिर आयो । पीडित बालिकालाई राति १२ बजेतिर अस्पताल भर्ना गरिएको थियो । अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित र पीडक छिमेकी हुन् । डीएसपी दाहालका अनुसार पीडित बालिका पीडक राजवंशीको छोरासँग खेल्न र पसलमा सामान किन्नका लागि उनको घरमा जानेआउने गर्थिन् । बालिकाका अभिभावक काममा गएको र छोरासँग खेल्नका लागि घरमा आएको मौका छोपेर राजवंशीले बलात्कार गरेको पाइएको उनले बताए ।
उनका अनुसार घटना सार्वजनिक हुनसाथ राजवंशीलाई राति नै पक्राउ गरिएको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद लिएर घटनाको थप अनुसन्धान अघि बढाउने तयारी गरिएको जानकारी डीएसपी दाहालले दिए । राजवंशीले यसअघि पनि बालिकालाई बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ । यसअघि घटना कहिले भयोभन्ने खुल्न सकेको छैन । तर, पटकपटक बलात्कार गरेको पाइएको जानकारी प्रहरीले दिएको छ । ‘बलात्कारपछि अनेक डर देखाउने र धम्की दिने गरेका कारण त्रासमा परेकी बालिकाले घटनाका बारेमा कसैलाई सुनाउन नसकेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘पछिल्लोपटक भने उपचारका लागि अस्पताल ल्याउनु परेपछि घटना बाहिर आएको हो ।’पीडित बालिका कक्षा १ मा अध्ययनरत छिन् । विद्यालय पुगेर नियमित अध्ययन गर्ने गरेको भएपनि सुस्त मनस्थितिकै कारण उनको पढाइमा प्रगति हुन नसकेको पाइएको डीएसपी दाहालले बताए । उनका अनुसार पीडितको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ ।