वीरगंज । राष्ट्रपतिले प्रमाणीकरण गरेकाे नयाँ नागरिकता ऐन अनुसार पर्सामा नागरिकता वितरण कार्य आगामी आइतबारदेखि सुरु गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले गत जेठ २१ गतेनै सुचना निकालेर जेठ २२ गतेदेखि नै नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण गरिने जनाएकाे थियाे ।तर उक्त ऐन विरुद्ध सर्वाेच्च अदालतमा रिट परेपछि नयाँ नागरिकता ऐेन अनुसार नागरिकता वितरण सुरु नहुदै राेकिएकाे थियाे ।
बिहीबार सर्वाेच्च अदालतले नागरिकता ऐन नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि नयाँ नागरिकता ऐन कार्यान्वयनकाे बाटाे खुल्ला भएकाे हाे ।त्यहि कारण जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ नागरिकता ऐन अनुसार जन्मसिद्ध नागरिकका सन्तानसहितका नागरिकताविहीनहरुलाई नागरिकता वितरण कार्य आइतबारदेखि सुरु गर्ने तयारी गरेकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलले जानकारी दिए ।
उनले जेठ २१ गते जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेकाे सुचनामा उल्लेख गरिएका कागजातहरु लिएर कार्यालयमा आइतबारदेखि सम्पर्क गर्न लक्षित सेवाग्राहीलाई आग्रहपनि गरे ।
जन्मसिद्ध नागरिकको सन्तानकाे हकमा बुबा आमा दुवैकाे सक्कल नेपाली नागरिकता र त्यसकाे प्रतिलिपी , वडाअध्यक्षकाे सिफारिससहितकाे अनुसुची र फारम, सक्कल जन्मदर्ता र शैक्षिक याेग्यताकाे प्रमाणपत्र , बाबू आमा , सन्तानबिचकाे फाेटाेसहितकाे सक्कल नाता प्रमाणीत , बसाईसराई गरि आएकाहरुकाे हकमा बसाईसराई प्रमाणपत्र लगायतका कागजपत्रहरु अनिवार्य रुपमा लिएर कार्यालयमा आउनु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी पाैडेलले बताए । नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई पत्राचार गरिसकेको उनले बताए ।