वीरगंज । मनसुन भित्रिएसँगै पूर्वी नेपाल सहित देशका बिभिन्न भागमा भारी बर्षा भएको छ । हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू–भागमा सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउसो देशभर आंशिक देखि सामान्य बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बिहीवार राती कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।