वीरगंज । यस वर्षको मनसुन प्रणाली आजबाट नेपालमा भित्रिएको छ । कोसी प्रदेश, पूर्वी मधेश प्रदेश, वाग्मती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा मनसुन प्रणाली आगमन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा एक दिन ढिलो नेपाल प्रवेश गरेको छ ।
विभागले नेपालको अन्य भू–भागहरूमा केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने जनाएको छ । विभागका अनुसार यो वर्षको मनसुनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको छ ।
विभागले यो वर्षको जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको स्पष्ट पारेको छ । यद्यपि, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानअनुसार फरक रहेको विभागको भनाइ छ । नेपालबाट औसतमा अक्टोबर २ मा मनसुन बाहिरिन्छ ।